• Wednesday 9th of September 2026

लकडाउन : लाखौँ दुग्धजन्य पदार्थ बिग्रियो


  • आशाका किरण
Dairy products assortment shot on rustic wooden table. Dairy products included are milk, yogurt, butter, goat cheese, mozzarella, ricotta, Parmesan cheese, emmental cheese, eggs and hard cheese. Low key DSRL studio photo taken with Canon EOS 5D Mk II and Canon EF 100mm f/2.8L Macro IS USM

लामो समय लकडाउन भएपछि कैलालीका दूध डेरी सञ्चालकलाई लाखौँ घाटा भएको छ । लकडाउनका कारण डेरी सञ्चालकको दुग्धजन्य पदार्थ बिग्रिएर लाखौँ नोक्सान भएको उनीहरुको गुनासो छ । कैलालीको भजनीस्थित बडीमालिका दूध डेरीमा ३०० किलो पनिर बिग्रिएको छ । दुग्ध व्यवसायी युवासिंह ठकुरीले रु डेढ लाख मूल्य पर्ने पनिर बिग्रिएर बङ्गुरलाई खुवाएको बताउनुभयो । “नयाँ वर्षमा ५०० किलोसम्म पनिर बिक्री हुन्थ्यो । नयाँ वर्षका लागि तयार गरिएको पनिर बिक्री हुन नपाएर बिग्रिएको हो ।” सञ्चालक ठकुरीले भन्नुभयो, “मानिस बजारमा आउन पाएनन् । बाहिरी जिल्लामा पनि पठाउन सकिएन, बिग्रिएर नोक्सान भयो ।” ठकुरीको दूध डेरीमा दैनिक ७०० लिटर दूध खपत हुन्थ्यो । हाल सरकारले बिहान दुई घण्टामात्रै पसल खोल्न दिएकाले ५० लिटरसम्म खपत हुने गरेको छ । “बालबच्चा भएका, बिरामीका लागि मात्र दूध उपलब्ध गराउने गरेका छौँ”, ठकुरी भन्नुहुन्छ, “किसान उत्पादन भएको दूध बजारसम्म ल्याउन सकिरहेका छैनन् ।”

त्यस्तै कैलालीकै जोशीपुरस्थित दूध डेरी सञ्चालक शेरबहादुर बुढाको पनि रु ६० हजार मूल्य पर्ने पनिर बिग्रिएको उहाँको गुनासो छ । लकडाउनका कारण बजारमा मानिस आवतजावत बन्द भएपछि कैलालीको भजनी, जोशीपुर र टीकापुर क्षेत्रका धेरै दूध डेरी बन्द भएका छन् । दूध डेरी बन्द भएपछि किसानले दूधसमेत बिक्री गर्न पाएका छैनन् । भजनी–५ का दूध सङ्कलक मदन बोहरा दैनिक १७० लिटर दूध सङ्कलन गरेर बिक्री गर्न ल्याउनुहुन्थ्यो । “मेरो राम्रै रोजगारी चलेको थियो, आजभोलि बिक्री गर्न पाइएको छैन”, बोहराले भन्नुभयो, ‘‘धेरै गाई तथा भैँसीपालक किसानलाई समस्या भएको छ तर उपभोक्ताले दूध खान पाएका छैनन् ।” भैँसीपालक किसान र डेरी सञ्चालक दूध खपत हुन नसकेपछि बैंक ब्याज कसरी तिर्ने भन्ने चिन्तामा छन् । “लाखौँ ऋण छ, व्यापार नभए ब्याज कसरी तिर्ने ?” दूध डेरी सञ्चालक बुढाले भन्नुभयो, “घरभाडा, बैंक ब्याज तिर्नुपर्ने छ, त्यसैमा उत्पादन बिग्रिएर नोक्सान भएको छ ।”

टीकापुरका भैँसीपालक शिवबहादुर थापा स्थानीय सरकारले कृषिजन्य उत्पादन बिक्रीका लागि सहजीकरणको काम गरिदिनुपर्ने माग गर्नुहुन्छ । “किसानको उत्पादन खेर गएको छ । उपभोक्ता खान पाइरहेका छैनन्”, थापा भन्नुहुन्छ, “सरकारले घुम्ती पसल सञ्चालन गरेर हुन्छ कि, केही उपाय खोजेर उत्पादन बिक्री गर्ने प्रबन्ध मिलाउनुपर्छ । नत्र ठूलो अर्थतन्त्र पानी र माटोमा मिसिन्छ ।” थापा यस्तो सङ्कटका बेला स्थानीय उत्पादन जोगाउनुपर्ने बताउनुहुन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij