• Saturday 25th of July 2026

भोकै बस्नु परे १०१ मा फोन गर्नुहोस्


  • आशाका किरण

वीरेन्द्रनगर नगरपालिकाले विपन्न परिवारलाई राहत वितरणको लागि हटलाइन सेवा १०१ को व्यवस्था गरेको छ । लकडाउन(बन्दाबन्दी) का कारण भोकभोकै बस्नुपर्ने विपन्न परिवार, मजदूर तथा विद्यार्थीलाई राहत वितरणको लागि उक्त नम्बरको व्यवस्था गरिएको हो । कोरोना सङ्क्रमणको कारण गरिएको लकडाउनले समस्यामा परेका विपन्न वर्ग तथा मजदूरहरुको लागि हटलाइन नम्बरमा फोन गरेर आफ्नो समस्या राखेपछि नगरपालिकाले राहतको उपलब्ध गराउनेछ । यस नम्बरमा फोन गर्दा शुल्क लाग्दैन । लकडाउनका कारण भोकै बस्न बाध्य विपन्न मजदूर तथा विद्यार्थीलाई मध्यनजर गरी उक्त हटलाइन नम्बरको व्यवस्था गरिएको नगरपालिकाका प्रशासकीय अधिकृत दिपेन सुवेदीले जानकारी दिनुभयो ।

‘‘हटलाइनमा फोन आएको २४ घण्टाभित्र उक्त परिवारको अवस्थाबारे बुझ्न नगरपालिकाले खटाएको अनुगमन टोली जान्छन्,’’ उहाँले भन्नुभयो, ‘‘राहत दिन मिल्ने नमिल्ने विषयमा उक्त टोलीले अनुगमन गरेपछि सो परिवारलाई राहत उपलब्ध गराउने व्यवस्था छ ।’’ पहिलो चरणमा १५ हजार विपन्न परिवार तथा मजदूरलाई राहत वितरण गरिसकिएको नगरपालिकाका कार्यबाहक प्रमुख मोहनमाया ढकालले बताउनुभयो । उहाँका अनुसार त्यसैगरी अलपत्र परेका नागरिकहरुलाई खानाको व्यवस्था गरी गन्तव्य स्थानसम्म पु¥याउने काम भएको छ । नगरपालिकाका विभिन्न वडामा सङ्क्रमण फैलन नदिन औषधि छर्ने काम पनि गरिएको ढकालले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij