• Wednesday 9th of September 2026

बन्दाबन्दीको असरः बढ्यो खाद्यान्नको मूल्य


  • आशाका किरण

कोभिड–१९ का कारण बन्दाबन्दी गरिएसँगै झापामा अत्यावश्यक खाद्यान्नको मूल्यमा वृद्धि भएको छ । चामल, दाल, तेल, चना, मटर, चिनीलगायतका अत्यावश्यक खाद्यान्नमा मूल्यवृद्धि भएको हो । बिर्तामोड–४ का किराना व्यवसायी पवन राजवंशीले चामलमा प्रतिबोरा रू १०० देखि रू २०० सम्म मूल्य बढेको बताउनुभयो । “सामान्य मन्सुली चामलमा रु १०० सम्म मूल्य बढेको छ”, उहाँले भन्नुभयो, “वास्मतिलगायतका चामलमा रु २०० सम्म बढेको छ ।” लकडाउनअघि प्रतिकेजी रू १२० मा पाइने मोटा मुसुरो दाल अहिले प्रतिकेजी रू १४० पुगेको उहाँले बताउनुभयो । लकडाउनका कारण अहिले हरेक वस्तुमा मूल्य बढेको उहाँको भनाइ छ । “लकडाउनअघि यो दालमोठको होलसेलमा ९५ रुपैयाँ पथ्र्यो”, राससकर्मीलाई दालमोठको नयाँ मूल्यको बिल देखाउँदै उहाँले भन्नुभयो, “अहिले मैले होलसेलमै १०१ रुपैयाँमा किनेर ल्याएँ, अब कसरी बेच्नु ?” अर्का किराना व्यवसायी मनोज साहले कतिपय किराना ‘आइटम’ आफूले बेच्न छोडेको बताउनुभयो । “होलसेलमा सबै सामानको मूल्य बढेको छ”, उहाँले भन्नुभयो, “आफूले मूल्य बढाएर बेच्यो भने कालोबजारी ग¥यो भन्छन् भन्ने डरले सामान नै ल्याउन छोडिएको छु, जेजति छ त्यही बिक्री गर्छु ।”

होलसेल बिक्रेताले मूल्य बढाएको साना व्यवसायीको भनाइ छ । उनीहरुले भन्नुभयो, “होलसेलमा महँगोमा किन्नुपरेपछि कम मूल्यमा बेच्न सकिँदैन ।” एकातिर मूल्यवृद्धि छ भने अर्कातिर सामानको मूल्य पनि पसलै पिच्छे फरक छ । बिर्तामोड–४ की मुना बस्नेतले लकडाउनअघि रू ९०० मा ल्याउने गरेको खाने तेल रू ९३० मा किन्नुपरेको बताउनुभयो । “सामान सटेज छ भन्छन्, न किन्दा पनि हुँदैन”, उहाँले भन्नुभयो, “सबै कुरामा दाम बढेको छ ।” बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुमार भट्टराईले बजारमा मूल्यवृद्धि भएको स्वीकार्नुहुन्छ । अनुगमनका क्रममा ग्यासको बढी मूल्य लिने व्यवसायीलाई कारवाही गरिएको उहाँको भनाइ छ । “दैनिक उपभोग्य वस्तुमा केही मात्रामा मूल्य बढेको छ”, उहाँले भन्नुभयो, “अधिक मूल्य लिनेलाई कानूनी दायरामा ल्याएर कारवाही गर्नुपर्छ ।”

अनुगमनका क्रममा जाँदा व्यापारीले मूल्य नबढाएको दाबी गर्ने र उपभोक्ताबाट बढी मूल्य लिएको गुनासो आइरहेको उहाँको भनाइ छ । जिल्ला प्रशासन कार्यालय झापाले बनाएको अनुगमन समितिमार्पmत सातामा एक पटक अनुगमन गर्ने गरिएको उहाँको भनाइ छ । जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी एवं बजार अनुगमन समितिका संयोजक राजकुमार राईले आन्तरिकरुपमा छापा मार्ने काम भइरहेको बताउनुभयो । “कतिलाई सम्झाएका छाँै, कतिपयलाई चेतावनी दिइएको छ”, उहाँले भन्नुभयो, “बजारमा सुधार हुँदै गएको छ ।” सङ्कटका बेलामा भटाभट कानूनी दायरमा ल्याउन पनि समस्या रहेको उहाँको भनाइ छ । पसल बन्दा हुँदा उपभोक्तालाई मार पर्ने भएकाले पनि केही लचकता अपनाइएको उहाँले बताउनुभयो । हालसम्म तीन वटा चामल मिल र करिब २० वटा किराना पसललाई कारवाही गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij