• Wednesday 9th of September 2026

आफन्त र हुनेखाने वर्गलाई राहत : वडामा तालाबन्दी


  • आशाका किरण

राहत वितरणमा अनियमितता र पक्षपात गरेको आरोप लगाउँदै जिल्लाको केआइसिंह गाउँपालिका वडा नं ६ को भूमिराजमाण्डौँस्थित वडा कार्यालयमा स्थानीयवासीले तालाबन्दी गरेका छन् । कोभिड–१९ को जोखिम हुन नदिन जारी लकडाउनबाट समस्यामा परेकालाई वडाले राहत वितरण गर्दै आएको छ । दैनिक ज्यालादारी गर्ने तथा विपन्न परिवारलाई राहत वितरण हुने भनिएतापनि सो वडामा पक्षपातपूर्ण व्यवहार गरेर आफन्त र हुनेखाने वर्गलाई मात्रै राहत वितरण गरेका हुँदा तालाबन्दी गरेको स्थानीयवासी योगेन्द्र भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ गरिब, विपन्न वर्ग छन् उनीहरुलाई नदिएर अरु हुने खाने वर्गलाई राहत दिएका कारण तालाबन्दी गरिएको हो, गरिबले पाउने राहतमा धनीले किन खाने ?”

राहत वितरणमा अनियमिततासहित खासै राहत पाउनु पर्ने गरिब र विपन्न वर्गले राहत नपाएको भन्दै स्थानीयवासीले तालाबन्दी गरेको खबर आफूले पाएको गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “विपन्न परिवारले राहत नपाएको भन्दै केही व्यक्तिले वडा कार्यालयमा तालाबन्दी गरेको खबर पाएको छु, खास के भएको हो सो विषयमा बुझ्न कर्मचारी खटाएको छु बाँकी खबर त्यसपछि भन्न सकिन्छ ।” राहत पाउनै पर्ने व्यक्ति छुटेको भएमा तत्काल नाम समावेश गरेर राहत दिने विषयमा गाउँपालिका स्पष्ट रहेको अध्यक्ष शाहीको भनाइ छ । विपन्न परिवारलाई समेटेर राहत नदिएसम्म तालाबन्दी नखोल्ने तालाबन्दी गर्नेको माग रहेको बताइएको छ । सो विषयमा थप बुझ्न वडाध्यक्ष दीपबहादुर बलायरसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij