• Saturday 25th of July 2026

सवारी साधनलाई निसङ्क्रमण गर्न शुरु


  • आशाका किरण

मुख्य नाका मालढुङ्गाबाट जिल्ला भित्रने सवारीसाधनलाई निसङ्क्रमण (डिस्इन्फेक्टेड) गर्न शुरु गरिएको छ । कोरोनाको जोखिम बढ्न नदिन मङ्गलबारदेखि स्पे्रमार्फत विषाणुनाशक औषधि छर्कन थालिएको बागलुङ नगरपालिकाले जनाएको छ । “जिल्ला भित्रने सबै सवारी साधनलाई सोडियम हाइपो क्लोराइड छर्केर पठाउने गरिएको छ”, नगरपालिकाको स्वास्थ्य शाखाका कोरोना ‘फोकल पर्सन’ दिनेश जिसीले भन्नुभयो, “डिस्इन्फेक्टेड गर्ने काम अब नियमित हुन्छ ।” सोही प्रयोजनका लागि नगरपालिकाले रु २० हजार खर्चेर ‘डिस्इन्फेक्सन स्प्रे’ तयार गरेको थियो । नगरपालिकाले जिल्ला प्रहरी कार्यालयसँगको सहकार्यमा जिल्ला प्रवेश गर्ने सवारी साधनलाई ‘डिस्इन्फेक्टेड’ गर्न शुरु गरेको हो । बागलुङ र पर्वतको सीमा क्षेत्र मालढुङ्गामा रहेको प्रहरी चौकीले दैनिक सो काममा सघाउने भएको छ । सवारी साधनका माध्यमबाट पनि कोरोना भाइरस भित्रन सक्ने जोखिमलाई दृष्टिगत गरी नाकामा विशेष सावधानी अपनाइएको हो ।

गण्डकी प्रदेशका मुख्य नाकामा प्रवेश ...

बन्दाबन्दीका कारण अत्यावश्यक सेवाका मात्र सवारी साधन चलेका हुनाले अहिले नाकामा चाप कम छ । दुई सङ्क्रमित फेला परेकाले बागलुङ कोरोनाको जोखिममा छ । यद्यपि दुवै सङ्क्रमित उपचारपछि निको भइ घर फर्किसकेका छन् । तत्काललाई कोरोनाका बिरामीमुक्त जिल्ला बने पनि जोखिम भने अझै टरेको छैन । थप सङ्क्रमण हुन नदिन उच्च सतर्कता र सावधानी अपनाइएको छ । बाहिरबाट आउने व्यक्तिबाट हुने सङ्क्रमण रोक्न सकिएमा जिल्लालाई कोरोनाबाट सुरक्षित राख्न सकिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij