• Wednesday 9th of September 2026

नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाद्वारा १०० पत्रकारलाई राहत वितरण


  • आशाका किरण

नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा करीब १०० पत्रकारलाई आज राहत वितरण गरेको छ । शाखाले कोभिड–१९ को सङ्क्रमण न्यूनीकरण गर्न सरकारले जारी गरेको लकडाउनको समयमा जीविकोपार्जन गर्न कठिन भएका आफ्ना सदस्य पत्रकारलाई चामल, दाल, नून, तेललगायत खाद्य सामग्री प्रदान गरेको हो ।

शाखाका अध्यक्ष शन्तराम बिडारीले पत्रकारिता क्षेत्रलाई थप व्यावसायिक र पारदर्शी बनाएर समाजमा सत्यतथ्य सूचना प्रवाहमा आफू क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्दै अभाव, दबाब र प्रभाव बिनाको पत्रकारिताको खाँचो औँल्याए। उनका अनुसार स्थानीय तहले वितरण गरेको राहतमा पत्रकारको प्रत्यक्ष पहुँच नभएकाले काठमाडौँ शाखाले खाद्य सामग्री सङ्कलन गरी आफ्ना सदस्यलाई वितरण गरेको छ ।

उपत्यका प्रदेश समिति सचिव विष्णु आचार्य, शाखाका पूर्वसभापति ईश्वरी वाग्ले, पत्रकार चक्रपाणि नेपाल, भावना विद्रोही, केबी सम्राट, फणीन्द्र फुयाल, कृष्ण लेकाली, कालिका महत,रामहरी सिलवाल लगायतले कोभिड–१९ का कारण विश्व अर्थतन्त्र सङ्कुचन भई नकारात्मक प्रभाव पर्ने हुँदा पत्रकारिता क्षेत्रले सामाजिक रुपान्तरणका लागि कलम चलाउनुपर्ने विचार व्यक्त गरे । शाखाका उपाध्यक्ष सूर्य सुवेदीले दुःख पाएका सबै नागरिकलाई मानवीयताका आधारमा राहत सहयोग उपलब्ध गराउनुपर्नेमा जोड दिए।

यसैबीच ट्राइकोट इन्डस्ट्री प्रालिका प्रतिनिधि रवि पौडेलले पाँच थान व्यक्तिगत सुरक्षा सामग्री उक्त शाखालाई हस्तान्तरण गरे । दैनिक घटनाक्रमको समाचार सङ्कलनमा क्रियाशील रहने शाखाका १५ सदस्यलाई ‘कोरोना बीमा’ गरिने जनाइएको ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij