• Wednesday 9th of September 2026

सस्तोमा अण्डा बिक्री, किसानको लगानी डुब्दै


  • आशाका किरण

लकडाउनका कारण अण्डाको खपतमा कमी आउँदा अण्डा उत्पादक किसान मर्का परेका छन् । लकडाउनका कारण अण्डा खपत हुने बजार पूर्णरूपमा बन्द भएका कारण अत्यन्त कम मूल्यमा अण्डा बेच्नुपर्ने किसानले बताएका छन् । बागलुङलाई अण्डामा आत्मनिर्भर गराउने उद्देश्यले दुई वर्षअघि जिल्लाको बागलुङ नगरपालिका–१३ पँैयुपाटामा स्थापना भएको बलेवा बहुउद्देश्यी कृषि तथा पोल्ट्री उद्योगले अण्डा उत्पादन गर्दै आएको छ । बजारमा अण्डाको माग घटेपछि अण्डा सप्लायर्सले कम मूल्यमा पाएको अण्डामात्र खरिद गर्न थालेपछि अण्डा उत्पादक कृषक मर्कामा परेको उद्योगका सञ्चालक प्रकाश सुवेदी रखालले जानकारी दिनुभयो । “करोडौँको लगानी गरेको उद्योगमा लकडाउनका कारण शुरुमा अण्डा बिक्री नै भएन, गोदाममा अण्डा थुप्रिन थालेपछि सस्तो मूल्यमा भए पनि अण्डा बेच्न थालियो”, रखालले भन्नुभयो ।

प्रतिअण्डा रु १२.५० सम्म बिक्री गर्दै आएकामा लकडाउनपछि प्रतिअण्डा जम्मा रु नौ सम्ममा बिक्री गर्दै आएको बताउनुभयो । पोल्ट्री उद्योग शुरु गरेको छोटो समयमै राम्रो आम्दानी हुन थाले पनि लकडाउनका कारण घाटामा जान थालेको रखालको भनाइ छ । रखालका अनुसार अण्डाको मूल्य घटे पनि दानाको मूल्य बढ्ने अवस्थामा रहेको कारण दाना किनेर कुखुरा पाल्नै समस्या हुन थालेको हो । उहाँको फार्ममा अहिले करिब चार हजार लेयर्स जातका कुखुराका रहेका छन् । दैनिक तीन हजार ५०० बढी अण्डा उत्पादन गर्ने फार्मले बागलुङ बजारमा अण्डाको माग घटेपछि पोखरासम्म पु¥याएर सस्तो मूल्यमा अण्डा बिक्री गर्दै आएको छ । “दानाको मूल्य घट्लाभन्दा बढ्ने अवस्थामा छ”, उहाँले भन्नुभयो, “लकडाउन लम्बिँदै जाँदा लगानी डुब्ने खतरा भयो ।” रु एक करोड ६० लाखको लागतमा स्थापना गरिएको पोल्ट्री उद्योगले बागलुङलाई अण्डामा आत्मनिर्भर गराउन ठूलो योगदान पु¥याउँदै आएको छ । फार्ममा चार कामदारले रोजगारी पाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij