• Saturday 25th of July 2026

विद्यालय पुनःनिर्माण निरन्तर


  • आशाका किरण

बन्दाबन्दीबीच भूकम्पले क्षतिग्रस्त विद्यालय भवनको पुनःनिर्माणले गति लिएको छ । निर्माण सामग्री अभाव र मजदुरको अन्योलता हटेपछि कामले निरन्तरता पाएको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा)का अनुसार जिल्लाका आठ विद्यालय भवनको पुनःनिर्माण भइरहेको छ । ती यही हिउँदमा काम थालिएका भवन हुन् । “पुनःनिर्माणको ३० प्रतिशत काम पूरा भएको छ”, एकाइका प्रमुख मतिलाल चपाईँले भन्नुभयो, “लकडाउन नभएको भए ५० प्रतिशत प्रगति पुग्थ्यो, अब योजनाको अवधि केही थप हुन्छ ।” स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर पुनःनिर्माण भइरहेको छ । सामाजिक दूरी कायम गर्ने, मजदुरलाई बाहिर आउजाउ गर्न नदिने, कार्यस्थलमै खाने, बस्नेलगायत सावधानी अपनाउन भनिएको प्रमुख चपाईँको भनाइ छ । गलकोट नगरपालिका–७ मल्मस्थित जनहित माविमा चारकोठे भवनको भुइँतला ढलानपछि झ्याल–ढोकाको चौकोस राख्न शुरु गरिएको छ । गत फागुन अन्तिमदेखि भवनको पुनःनिर्माण थालिएको व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर थापाले बताउनुभयो । प्राधिकरणको रु ७० लाख बजेटमा उक्त भवन पुनःनिर्माण हुन लागेको हो ।

“१२÷१५ दिनजति रोकिए पनि अहिले काम शुरु छ, पुनःनिर्माण सकिन सम्झौता अवधिभन्दा केही बढी लाग्छ”, अध्यक्ष थापाले भन्नुभयो । उक्त विद्यालयको पुनःनिर्माणमा सुर्खेतका आठसहित स्थानीय मजदुर खटिएका छन् । बन्दाबन्दी शुरु हुनासाथ सुर्खेतकै केही मदजुर घर फर्केपछि थोरै मात्र विद्यालयको काममा छन् । बन्दाबन्दीबीच पुनःनिर्माणको कामलाई अघि बढाउन स्थानीय तह र प्रशासनसँग समन्वय गरिएको एकाइ प्रमुख चपाईँले बताउनुभयो । एकाइका अनुसार विद्यालय भवनसँगै शौचालय निर्माणको काम पनि हुनेछ । चालू आवमा निर्माण शुरु भएका सबै विद्यालय भवन चारकोठे छन् । थप विद्यालय भवनका लागि प्राधिकरणमा माग पठाइएको एकाइले जनाएको छ । विद्यालय पुनःनिर्माण गर्दा भौगोलिक अध्ययन, डिजाइन, लागत अनुमान स्वीकृत गर्नुपर्ने प्रावधान छ । क्षतिको अवस्था, विद्यार्थी अनुपातजस्ता आधारमा अनुदानको प्राथमिकता निर्धारण हुने गरेको छ ।

चारकोठे भवनका लागि रु ७० लाख, तीनकोठेलाई रु ३५ लाख, दुई कोठेलाई रु २३ लाख र शौचालयका लागि रु १५ लाख बजेट आउने गरेको छ । अघिल्ला दुई आवमा पुनःनिर्माण थालिएका ७८ मध्ये ५३ विद्यालयको पुनःनिर्माण सकिएको छ । बाँकी २५ विद्यालय भवनको काम अन्तिम चरणमा पुगेको छ । बन्दाबन्दीका कारण भवन हस्तान्तरण र भुक्तानीको काममा ढिलाइ भएको छ । भूकम्प गएको दुई वर्षपछि मात्र जिल्लामा प्राधिकरण आएकाले पुनःनिर्माण पनि पछि धकेलिएको हो । एकाइले भूकम्पमा क्षति भई लाभग्राहीको सूचीमा रहेका सबै विद्यालय भवनको पुनःनिर्माण गरिने जनाएको छ । कोरोनाको जोखिमले निम्त्याएको बन्दाबन्दीका कारण रोकिएका अन्य विकास, निर्माणका काम पनि विस्तारै शुरु हुन थालेका छन् ।

स्थानीय स्रोत–साधनको उपयोग गर्दै भौतिक दूरीलगायत उच्च सावधानी र सतर्कतासहित निर्माणका काम अघि बढाइएको गलकोट नगरपालिकाले जनाएको छ । जिल्लामा पर्ने मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोरलगायत ठूला गौरवका आयोजनाले समेत काम थालेका छन् । बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वतको कुश्मा नगरपालिका–१ पाङ जोड्ने ५७६ मिटर लामो झोलुङ्गे पुलको निर्माण पनि बन्दाबन्दीबीच पूरा भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij