• Friday 24th of July 2026

हेलम्बुमा लामो र अग्लो झोलुङ्गे पुल बन्दै


  • आशाका किरण

–देवराज सुवेदी पर्यटकीय क्षेत्र हेलम्बुमा ३७० मिटर लम्बाइको झोलुङ्गे पुल बन्ने भएको छ । यसका लागि प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयले सार्वजनिक सूचना प्रकाशित गरी आवश्यक प्रक्रिया अघि बढाएको छ । मेलम्ची खोलामाथि हजार फिट अर्थात् करिब १८० मिटर उचाइमा बन्ने उक्त पुल आवत जावत मात्र होइन पर्यटका लागि पनि आकर्षित हुने स्थानीयवासीको भनाइ छ । सो गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाका अनुसार सो पुल नेपालकै लामो र उच्च स्थानमा रहेका पुलमध्येको एक हो । पुलको लागत अनुमान गर्न प्राविधिकले आनाकानी गरेपछि विशेषज्ञको सहयोग लिएको उहाँले जानकारी दिनुभयो । “स्थानीय तहले बनाउन धेरै लागत लाग्ने भएपछि प्रदेश सरकारलाई अनुरोध गरेको उहाँले बताउनुभयो ।” मेलम्ची खानेपानीको मुहानभन्दा माथि सर्कथली भन्ने स्थानबाट तल्लो भागमा पर्ने उक्त पुल निर्माणका लागि करिव रु तीन करोड ५० लाख खर्च हुने अनुमान छ ।

सो गाउँपालिकाका सबइन्जिनीयर शेरबहादुर राईका अनुसार पुलको डिपिआर गाउँपालिका र पुलका अनुभवी डा नरेन्द्रलाल जोशीले तयार पार्नुभएको हो । कोरोना भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहेकाले विकास निर्माणको काममा बाधा पुगेका छ । त्यसैले सो स्थानमा बन्न लागेको पुल पनि जनशक्ति र सामान अभावले गर्दा ढिला हुने जिल्ला डिभिजनल इन्जिनीयर राजु श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार पुलको काम असोजसम्ममा सक्ने लक्ष्य लिइएको छ । पर्यटकका लागि हेलम्बु राजधानीबाट सबैभन्दा नजिक र पुरानो टे«किङ मार्ग हो । मेलम्ची मुहान नजिकै बन्ने भएकाले आन्तरिक पर्यटक पनि उक्त पुल हेर्न जान सक्ने छन् । पुल निर्माणपछि सिन्धुपाल्चोक जिल्लाकोे सबैभन्दा उचाइ र सबैभन्दा लामो हुने अध्यक्ष शेर्पाले जानकारी दिनुभयो । यातायातको सुविधा भएपछि पछिल्लो समय घुम्नका लागि हेलम्बु जानेहरु बढ्दै गएका छन् ।

मेलम्ची मुहान हेर्न पनि आन्तरिक पर्यटक धेरै आउने गरेका छन् । उक्त पुलबाट हेलम्बुको पर्यटकीय केन्द्रहरु तार्केघ्याङ उत्तर र मेलम्चीघ्याङ दक्षिणपूर्वमा पर्छ । पुल निर्माणपछि बन्जी हान्नका लागिसमेत उपयुक्त हुने उहाँले बताउनुुभयो । सो पुल निर्माणपछि हेलम्बुका पर्यटकीयस्थल मिलेरेप्पा, नाकोते, घ्वागाङ, रिबाल्मालगायत बस्तीमा पुग्न सजिलो हुने सो गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij