• Saturday 25th of July 2026

कर्णालीका जलचर लोपोन्मुख


  • आशाका किरण

पछिल्लो केही वर्षयता कर्णाली नदीमा पाइने शहर (महाशेर) माछालगायत अन्य जलचर प्राणी लोप भएर जान थालेका छन् । कर्णाली नदीमा जथाभावी माछा मार्ने प्रवृत्तिका कारण शहर (महाशेर) माछालगायत अन्य जलचर प्राणी लोप भएर जान थालेका हुन् । कर्णाली नदीमा पाइने शहर जातिका माछा मात्र होइन, स–साना भूरामाछा, घडियाल गोही, विश्वमै दुलर्भ मानिने डल्फिनलगायत प्राणी लोप भएर जान थालेको स्थानीय बासिन्दाको भनाइ छ । कर्णालीलगायत त्यसका अन्य सहायक नदीमा पाइने जलचर प्राणी लोप भएर जान थालेका छन् । नदीमा विष हाल्ने, करेन्ट लगाउने तथा महाजाल प्रयोग गरेर माछा मार्न थालेपछि त्यसको असर जलचर प्राणीमा पर्न गएको छ । पानीजन्य जलचर प्राणी लोप भएर जान थालेपछि तिनीहरुको संरक्षणका लागि विशेष नीति बनाएर कार्यान्वनमा ल्याउन पहल गर्नुपर्ने रानी जमरा कुलरिया जल सिँचाइ मूल कुला उपभोक्ता समितिका सचिव परशुराम चौधरीले बताउनुभयो । पृथ्वीमा भएका अन्य प्राणीसरह बाँच्न पाउने अधिकार पानीमा बस्ने प्राणीको भएकाले तिनीहरुको संरक्षणका लागि मानवजातिले सोच्ने बेला आएको उहाँको भनाइ छ ।

विगत २०/२५ वर्षअघि कर्णाली नदीमा सहर (महाशेर) माछा छ्याप्छ्याप्ती पाइने गरेकामा अहिले कहिलेकाहीँ मात्र पाइने गरेको संरक्षणकर्मीको भनाइ छ । कर्णाली नदीमा २० देखि ३० केजीसम्मका शहर (महाशेर) माछा पाइने गरेकामा अहिले हराएर गएको देखिन्छ, कर्णाली नदीमा जथाभावी माछा मार्ने प्रवृत्तिले जलचर प्राणाी सङ्कटमा पर्दै गएको सचिव चौधरीले बताउनुभयो । यहाँका जलचर प्राणीको सङ्ख्या घट्दै गएकाले कर्णालीलगायत कैलालीका सबै नदी खोलामा माछा मार्ने काममा रोक लगाउनुपर्ने टीकापुरका पर्यटन व्यवसायी थर्कबहादुर शाहको भनाइ छ । महाजाल, करेन्ट, विषादी प्रयोग गरेर माछा मारिन थालेपछि सहरमाछालगायत कर्णाली नदीमा पाइने डल्फिन, घडियाल गोही पनि लोपोन्मुख अवस्थामा पुगेको उहाँले बताउनुभयो । कर्णाली नदीमा जथाभावीरूपमा माछा मार्ने प्रवृत्तिमा रोक लगाउने हो भने सहरमाछा, डल्फिन, घडियाल गोही संरक्षणमा टेवा पुग्ने स्थानीयको भनाइ छ ।

सहरमाछा, डल्फिन, घडियाल, ओतरको आहारा स–साना माछाका भूरा हुन्, ती माछाका भूरा पनि मानवीय गतिविधिका कारण कम हुन थालेको छ । कर्णाली नदीमा मात्रै होइन, सो नदीमा मिसिने मोहनालगायत अन्य सहायक नदीनालामा पानीको सतह बढेका बेला सहरमाछा, डल्फिन, घडियाल, ओतर देखिने गरेको डल्फिन संरक्षण केन्द्रका सचिव विजयराज श्रेष्ठ बताउनुहुन्छ । जथाभावी माछा मार्ने प्रचलनले गर्दा सहरमाछा, डल्फिन, घडियाल, ओतरजस्ता पर्यापर्यटनका लागि महत्वपूर्ण मानिने जलचर प्राणाी लोप हुनु दुःखद् भएको उहाँको भनाइ छ । सहरमाछा, डल्फिन, घडियाल, ओतरजस्ता पानीजन्य प्राणीको संरक्षणका लागि जनस्तरबाटै लाग्नुपर्छ । कर्णाली, मोहना नदीमा जिल्ला समन्य समितिले विगत लामो समयदेखि ठेक्का आह्वान गर्दै आएको छ ।

माछा मार्नका लागि ठेक्का दिने गरेका कारणले पनि महत्वपूर्ण जलचल प्राणी लोप हुनुको कारण भएको जनाइएको छ । कैलालीको चुरे गाउँपालिका र मोहन्याल गाउँपालिकाले नीति नै बनाएर माछा संरक्षण गरिरहेका छन् । डोटी र कैलालीको सीमा भएर बग्ने ठूलीगाड नदीमा चुरे गाउँपालिकाले माछा मार्न प्रतिबन्ध लगाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij