• Friday 24th of July 2026

काभ्रेका नाका बन्दलगत्तै लकडाउन खुकुलो


  • आशाका किरण

– राजकुमार पराजुली काभ्रेपलाञ्चोक, २७ वैशाख (रासस) : काभ्रेपलाञ्चोक प्रवेश गर्ने सबै नाका बन्द गरिएपछि लकडाउन खुकुलो बनाइएको छ । जिल्लास्थित कोभिड–१० रोकथाम तथा नियन्त्रण, व्यवस्थापन कमाण्ड पोष्टले कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि गत बिहीबार साँझ मात्रै यसजिल्लासँग जोडिएका सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, भक्तपुर, ललितपुर र मकवानपुर नाकाबाट नागरिकलाई जिल्ला आवतजावतमा पूर्णरूपमा रोक लगाएको थियो । जिल्ला प्रवेश नाकामा कडाइ गरेको एकै दिनपछि जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले शुक्रबार साँझ जिल्लामा लकडाउन खुकुलो बनाउने निर्णय गरेको थियो । केन्द्रले सुरक्षाको मापदण्ड र सामाजिक दूरी कायम गरी विभिन्न उद्योग तथा विकास–निर्माण सम्बन्धित आयोजना सञ्चालन गर्न दिइने निर्णय गरेको थियो । तर जिल्लाको कुनै क्षेत्रमा कोराना भाइरसको सङ्क्रमणको जोखिम देखिएमा सो क्षेत्र वा जिल्लाभरि नै निश्चित अवधिसम्मका लागि स्थानीय प्रशासनले सबै रोक लगाइने शर्त राखिएको छ ।

केन्द्रका अनुसार कृषि तथा पशुपक्षीजन्य दूध, तरकारी, माछा, कुखुरा, अण्डा र दाना उत्पादन गर्न पाइने छ भने मल तथा बीउबिजको ढुवानी र बिक्री गर्न पाइनेछ । साथै शीतभण्डारसमेत सञ्चालन गर्न पाइने केन्द्रले निर्णय गरेको छ । यहाँ सञ्चालित सडक आयोजना, नदी नियन्त्रणका कार्य तथा शहरी पूर्वाधारका योजना एक स्थानमा अधिकतम १० भन्दा कम मजदुरले काम गर्ने गरी लकडाउन केही खुकुलो बनाइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार सरकारको वैशाख २५ गतेको पत्रानुसार सबै क्षेत्रमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ सामाजिक सेवातर्फका बैंक, विद्युत्, खानेपानी, सञ्चार, फोहरमैला व्यवस्थापन तथा दमकल सञ्चालन हुनेछन् । “पानी, ग्यास, पेट्रोलियक पदार्थ बोकेका भन्सार पास भएका सबै प्रकारका सवारी साधन सञ्चालन हुन पाउनेछन्”, उहाँले भन्नुभयो ।

यस्तै उद्योगतर्फका चामल, चिउरा, पिठो, पाउरोटी, तेल, दाललगायत घरेलु साना उद्योग सञ्चालन हुनेछन् । साथै बढीमा तीन मजदुर सञ्चालन गर्न पाउने वर्कशप, प्लम्बिङ, इलेक्ट्रोनिकल सेवा सञ्चालन हुने केन्द्रले जनाएको छ । तर विश्वविद्यालय, क्याम्पस, विद्यालय, सिनेमाहल, होटल, बार र रेष्टुरेन्ट तथा पाटीप्यालेस, फनपार्क, रङ्गशाला, खेलकूदस्थल, फुटसल, जिमखाना, फिटनेश सेन्टर, शैलुन, ब्यूटीपार्लर सञ्चालन हुन पाउने छैनन् । पोष्टले सिन्धुपाल्चोकसँग जोडिएको मण्डनदेउपुर नगरपालिका र भुम्लु गाउँपालिका, रामेछापसँग जोडिएको चौँरीदेउराली, तेमाल र रोशी गाउँपालिका, सिन्धुलीसँग जोडिएको तेमाल गाउँपालिका, मकवानपुरसँग सीमा जोडिएको महाभारत गाउँपालिका र ललितपुरसँग जोडिएको बेथानचोक र खानीखोला गाउँपालिका तथा भक्तपुरसँग जोडिएको बनेपा नपास्थित साँगामा आजदेखि अत्यावश्यक सवारीबाहेकलई पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको थियो । सीमानाकामा भने कडाइ यथवत नै राखिएको जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij