• Wednesday 9th of September 2026

लकडाउनमा झण्डै पाँच हजार विदेशी फर्किए


  • आशाका किरण

कोभिड–१९ को जोखिम औँल्याउँदै सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गरे पनि लकडाउनको अवधिमा झण्डै पाँच हजार विदेशी नागरिक आ–आफ्नो मुलुक फर्केका छन् । नेपालले अन्तर्राष्ट्रिय उडान बन्द गरेको अवस्थामा ‘चार्टर फ्लाइट’मार्फत शनिबारसम्म विभिन्न मुलुकका चार हजार ८७४ विदेशी नागरिक आ–आफ्नो मुलुक फर्किएका हुन् । सरकारले गत चैत ११ देखि लकडाउन गरे पनि विदेशी मुलुकले चार्टर फ्लाइटमार्फत आफ्ना नागरिक उद्धार गरी लैजान सकिने निर्णय गरेको थियो । सो अवधिमा ५१ वटा विशेष उडानमार्फत ६० भन्दा बढी मुलुकले आफ्ना नगरिकलाई उद्धार गरी लगेका अध्यागमन विभागले जनाएको छ । सो अवधिमा १७ कार्गो र ३४ यात्रु उडान भएको थियो । नेपाल भ्रमण गर्न आएका पर्यटक, नेपालमा रहेका विभिन्न मुलुकका कूटनीतिक नियोगका कर्मचारी, दातृ निकाय तथा विकास साझेदारका विभिन्न परियोजनामा काम गर्ने नागरिकलाई उद्धार गरेर लगेको बताइएको छ ।

यस अवधिमा सबैभन्दा बढी संयुक्त अधिराज्यका ६६६ नागरिक स्वदेश फर्केका विभागका निर्देशक रामचन्द्र तिवारीले जानकारी दिनुभयो । यसैगरी जर्मनीका ६५६, अमेरिकाका ५३५, फ्रान्सका ४२५, क्यानाडाका ३२२, अष्ट्रेलियाका २३६, नेदरल्यान्डका १७६, दक्षिण कोरियाका १६३, जापानका १६२, स्पेनका १३४, स्विट्जरल्यान्डका ११४, इटालीका ११३, रसियाका १०४, पोल्यान्डका ९२, अस्ट्रियाका ८४, स्विडेनका ७४, बेल्जियमका ६५, श्रीलङ्काका ५७, चेक रिपब्लिकका र मलेसियाका ४५÷४५ तथा भूटानका ४४ नागरिक स्वदेश फर्केका छन् । यस्तै डेनमार्कका ४३, फिनल्यान्डका ४२, आयरल्यान्डका ४०, न्युजिल्यान्डका ३८, युक्रेनका ३७, थाइल्यान्डका ३३, बङ्गलादेशका ३२, ब्राजिलका ३१, हङ्गेरीका २७, पोर्चुगलका २२, नर्वे र इजरायलका २१÷२१, चीन र भारतका २०÷२०, सिङ्गापुरका १९, माल्दिभ्सका १२, दक्षिण अफ्रिकाका ११, मेक्सिको र रोमानियाका सात÷सात, स्लोभाकियाका छ, बेलारुसका पाँच, अर्मेनिया, लिथुवानिया, युएनओ, लाटभिया र बुल्गेरियाका चार÷चार नागरिक फर्किएका विभागले जनाएको छ ।

यस्तै लक्जेमबर्ग, मङ्गोलिया र आइसल्यान्ड तीन÷तीन, अर्जेन्टिना, चिली, ग्रिस, इरान, माल्टा, स्लोभानिया, ताइवान, संयुक्त अरब इमिरेटस् र यमनका दुई÷दुई तथा अन्य मुलुकका १८ नागरिक पनि लकडाउनको अवधिमा स्वदेश फिरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij