• Wednesday 9th of September 2026

महोत्तरीमा लकडाउनमा कडाइः वनक्षेत्रमा तस्करहरुको चहलपहल घट्दै


  • आशाका किरण

बस्ती–बस्तीमा लकडाउन कडाइ गरिँदै लगिएसँगै महोत्तरीका वन क्षेत्रमा तस्करहरुको चहलपहल घटेको छ । पछिल्लो साता जिल्लाका सबैजसो बस्तीमा स्थानीयवासीको तदारुकतामा लकडाउन परिपालनाका लागि कडाइ हुन थालेपछि वन क्षेत्रमा तस्करको चहलपहल देखिन छाडेको हो । जेठ लागेयता वनमा शिकारी र काठ तस्कर नपसेका डिभिजन वन कार्यालय महोत्तरीको निष्कर्ष छ । पछिल्लो साता वनका कुनै रुख नकाटिएका र वन्यजन्तुको विचरण पनि राम्रो रहेको डिभिजन प्रमुख हेमन्तप्रसाद साहले बताउनुभयो । “जिल्लाका बस्तीमा लकडाउनबारे आम मान्छेमा बढेको सकारात्मक सचेतनाले सवारी आवागमन एकदमै पातलिएको छ”, उहाँले भन्नुभयो, “सवारी आवागमन हुन नदिन बढेको कडाइले वन सुरक्षामा पनि सकारात्मक प्रभाव पारेको छ ।” वैशाख अन्तिमदेखि नै वनमा बाहिरी चहलपहल स्वात्तै घटेपछि वन्यजन्तु निश्चिन्त भएर विचरण गरिरहेका र कुनै रुख पनि नकाटिएको प्रमुख साहको भनाइ छ ।

यसैगरी जेठ लागिकन लगातार भइरहेको वर्षाले पनि बाह्य चहलपहल घटाएको देखिँदो छ । यसबीचमा डिभिजन कार्यालय मातहतका जिल्लाका छ सवडिभिजन कार्यालयमध्ये सघन वन क्षेत्रसँग जोडिएका चार डिभिजन कार्यालयले आफ्ना क्षेत्रभित्रका सामुदायिक वन उपभोक्ता समितिको तत्परतामा वन संरक्षण समन्वय संयन्त्र गठनसमेत गरेका छन् । चार सव डिभिजनमातहतका करिब ७० सामुदायिक वन उपभोक्ता समितिले आ–आफ्ना क्षेत्रभित्र बनाएका संयन्त्रको खबरदारीले पनि तस्कर वन पस्न डराएका डिभिजन वन कार्यालयको निष्कर्ष छ । जिल्लामा २४ हजार हेक्टर क्षेत्रफलमा वन रहेको छ । “कार्यालयकै विशेष तालिमप्राप्त तीन सुरक्षा गस्ती टोली पालोपालो गस्तीमा जाँदैछन्, सामुदायिक वन उपभोक्ता समितिले सवडिभिजन क्षेत्रमा संयन्त्र गठन गरेर सक्रियता बढाएपछि तस्करहरुमा झन् डर पसेको छ”, डिभिजन प्रमुख साहले भन्नुभयो, “पछिल्लोपटक लकडाउनमा बढेको कडाइले त वन क्षेत्र अहिले शान्त बनेको छ ।”

यसअघि चैत तेस्रो साताको शुरुदेखि वैशाखसम्म भने वनमा वन्यजन्तुको चोरी शिकार र रुख कटान भइरहेको पाइएको थियो । सो अवधिमै वन सुरक्षा गस्तीले करिब ४०० क्यूविक फिट (घनफिट) सालका नयाँ कटान गरिएका काठ विभिन्न ठाउँबाट बरामद गरेको थियो । सोही अवधिमा टेम्पु र मोटरसाइकलसहितका काठ ओसार्न प्रयोग गरिएका सवारी साधनसहित दुई जनालाई सुरक्षा गस्ती टोलीले पक्राउ गरेर कारवाही प्रक्रिया बढाइसकेको छ । यसै अवधिमा निलगाई, चित्तल र हरिणसहित सात वन्यजन्तुको उद्धार गरिएको कार्यालयको तथ्याङ्क छ । पछिल्लोपटक महोत्तरी र यससँग सीमा जोडिएका धनुषा र सर्लाहीमा दिनहुँजसो कोरोना सङ्क्रमण बढ्दै गएपछि सर्वसाधारण नै लकडाउनप्रति सकारात्मक हुँदै गएका छन् । जिल्लाका बस्त–बस्तीमा स्थानीय तदारुकतामा बाटो हिँड्ने मान्छेको पहिचान र आउने जाने मान्छेको खोजी बढ्दै गएपछि सडक सुनसान देखिन थालेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij