• Saturday 25th of July 2026

भारतमा रहेका नागरिकको उद्धार गरिने


  • आशाका किरण

भोजपुरबाट रोजगारीको सिलसिलामा भारत गइ सीमा क्षेत्रमा आएर अलपत्र परेका नागरिकको उद्धार गरिने भएको छ । सरकारले लकडाउनको समयमा आउनमा कडाइ गरे पनि दिनरात लगाएर पैदल हिँडेर लुकीछिपी जिल्ला आउने क्रम नरोकिएपछि उनीहरुलाई सुरक्षित तवर ल्याउने तयारी भएको हो । लुकेर आउने र उनीहरुको तथ्याङ सङ्कलनसमेत गर्न समस्या हुन थालेसँगै सङ्क्रमण झनै बढ्ने सम्भावनालाई ध्यान राखेर ल्याउने तयारी भएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ । उद्धार गरिने नागरिकमा कोरोना सङ्क्रमणको बढी जोखिम हुने भएकाले जिल्लाका सबै नाका बन्द गरी सकडको मुख्य नाका भोजपुर र धनकुटाको सीमा रहेको लेगुवाबाट मात्र ल्याउने तयारी रहेको जिल्ला प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिनुभयो । प्रजिअ पुरीले भन्नुभयो, “हामीले भारत–नेपालको सीमा क्षेत्रमा रहेका भोजपुरका नागरिकलाई उद्धार गरेर ल्याउने तयारी गरेका छौँ, सीमा क्षेत्रमा रोक्दा रातरात भागेर आउने क्रम देखिएपछि झनै सङ्क्रमण फैलिने सम्भावनालाई ध्यानमा राख्दै सुरक्षित तरिकाबाट क्वारेन्टिनमा राख्ने गरी ल्याउने तयारी गरेका हौँ ।”

पहिलो चरणमा पौवादुङमा गाउँपालिका, आमचोक गाउँपालिका, साल्पासिलिछो गाउँपालिका र षडानन्द नगरपालिकालगायतका नागरिकको उद्धार गरिने जनाइएको छ । उद्धार गरिएको नागरिकलाई राख्नका लागि अरुण गाउँपालिका वडा नं ६ र ७ मा रहेका कोशी प्राथमिक विद्यालय, सूर्योदय प्राथमिक विद्यालय र जनश्रमदान बालकल्याण प्राथमिक विद्यालयमा ८० श्यया क्षमतामा होल्डिङ एरिया छनोट गरिएको छ । आफ्नो जिल्लाका नागरिकलाई उद्धार गर्नु स्वागतयोग्य भए पनि सङ्क्रमणको डरसँगै उनीहरुलाई व्यवस्थापन गर्न आर्थिक समस्या हुने भएकाले सबैले सहयोग गर्नुपर्ने अरुण गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर कार्कीले बताउनुभयो । अध्यक्ष कार्कीले भन्नुभयो, “यो स्वागतयोग्य काम हो, तर जोखिमको सम्भावना पनि त्यत्तिकै मात्रामा छ, तत्काललाई होल्डिङ एरिया हाम्रो गाउँपालिकामा बनाउने तयारी रहेकाले आर्थिकरूपमा अन्य स्थानीय तहले पनि सहयोग गर्न आवश्यक छ ।”

उद्धार गरिएका नागरिकलाई होल्डिङ एरियामा राखेर कोरोना परीक्षण गरेपश्चात रिपोर्ट नेगेटिभ आए सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा पठाइने तथा पोजेटिभ आएमा उपचारका लागि धरान अथवा विराटनगरको कोराना विषेश अस्पताल पठाइने जिल्ला समन्वय समिति भोजपुरका प्रमुख लक्ष्मण खड्काको भनाइ छ । नेपाल–भारतको सिमाना काँकारभिट्टा, सुनौलीलगायत ठाउँमा रहेका पौवादुङमा गाउँपालिकाका १०, आमचोक गाउँपालिकाका १७, षडानन्द नगरपालिकाका छ र साल्पासिछो गाउँपालिकाका नौ जना सम्पर्कमा रहेकाले उनीहरुलाई ल्याउने तयारी गरिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij