• Wednesday 9th of September 2026

अवैध काठसहित पाँच पक्राउ


  • आशाका किरण

गोरखाको भीमसेन थापा गाउँपालिका–८ बोर्लाङबाट अवैध काठसहित पाँच जना पक्राउ परेका छन् । ग१त ३८७३ र ग१त ६२२८ नंको दुई ट्र्याक्टरमा लोड गरी सदरमुकामतर्फ लैजाँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको डिभिजिन वन कार्यालय गोरखाका प्रमुख तोयानाथ पौड्यालले जानकारी दिनुभयो । पक्राउ पर्नेमा सोही ठाउँका ट्र्याक्टर धनी सरोज श्रेष्ठ, ट्र्याक्टरका चालक रमेश कुमाल, सहचालक नवराज परियार, दीपेन्द्र कुमाल तथा कैलालीको धनगढी उपमहानगरपालिका–८ का हरि विष्ट रहेका उहाँले बताउनुभयो । इजाजतबिना नै काठ लैजाँदै गरेको थाहा पाएपछि स्थानीयवासीले अमलाभन्ज्याङस्थित प्रहरी चौकीलाई जानकारी गराएका थिए । स्थानीयवासी र प्रहरीले काठ बोकेको ट्र्याक्टरसहित उनीहरुलाई नियन्त्रणमा लिएर डिभिजन वन कार्यालयलाई बुझाएको हो ।

नियन्त्रणमा लिइएका दुई ट्र्याक्टरमा सालको नौ थान (३.७५ क्यूफिट) र बरको ३२७ थान (८८.८८ क्यूफिट) चिरान काठ रहेको पाइएको प्रमुख पौड्यालको भनाइ छ । “स्थानीयवासीले जानकारी गराएलगत्तै घटनास्थलमा पुगेर काठसहित संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएका छाँै”, उहाँले भन्नुभयो, “चार जनालाई घटनास्थलबाट र अन्य एक जनालाई बिहीबार धनगढी उपमहानगरपालिका–८ बाट पक्राउ गरिएको हो ।” पक्राउ परेका चार जनामाथि अनुसन्धान गर्दै जाँदा उक्त काठ जिल्ला प्रहरी कार्यालयको भवन निर्माणका लागि ल्याइएको खुल्न आएपछि भवन निर्माणको जिम्मा पाएको रोयल कन्स्ट्रक्शन प्रालिका विष्टलाई पनि पक्राउ गरी अनुसन्धान अघि बढाइएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij