• Wednesday 9th of September 2026

विश्व हिन्दू महासङ्घको अन्तर्राष्ट्रिय संयोजकमा डा योगी


  • आशाका किरण

विश्व हिन्दू महासङ्घ नेपालले डा चिन्तामणि योगीको संयोजकत्वमा अन्तर्राष्ट्रिय विभाग गठन गरेको छ । महासङ्घका वरिष्ठ उपाध्यक्ष भरतराज पौडेलको अध्यक्षतामा बसेको जुम प्रविधिको बैठकले विधानको परिच्छेद–७ को दफा २० उपदफा ‘ङ’ अनुसार संस्थाको सङ्गठनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग सम्बन्ध बढाउन पूर्वीय एवं पाश्चात्य दुवै दर्शनका ज्ञान र विज्ञानको क्षेत्रमा विशिष्टता हासिल गर्नुभएका मूल्यमा आधारित शिक्षाका अभियानकर्मी योगीलाई सो जिम्मेवारी दिएको हो । विश्वव्यापीरुपमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिएका विभिन्न देशमा रहेका नेपाली स्वदेश फर्कन चाहेकाले ल्याउने उचित प्रबन्ध गर्न पनि महासङ्घले माग गरेको महासचिव गणेशप्रसाद न्यौपानेले राससलाई जानकारी दिनुभयो । नेपालीलाई मातृभूमि प्रवेश गरेपछि आधारभूत आवश्यकतासहितको क्वारेन्टिनमा राखी उपचारको प्रबन्ध गर्न पनि अनुरोध गरिएको छ ।

कोरोनाबाट बच्न जारी बन्दाबन्दीका क्रममा दैनिक ज्याला गरी खाने एवं विपन्न वर्गका नागरिकलाई अप्ठ्यारो परेकाले जीवन निर्वाह गर्न सक्ने व्यवस्था गर्न पनि महासङ्घले सरकारसँग माग गरेको छ । कोरोनाका कारण विश्वव्यापीरुपमा जीवन गुमाएकाका लागि आ–आफ्नो धर्म संस्कृतिअनुसार दाहसंस्कार गर्ने व्यवस्था मिलाउन सम्बन्धित देशका सरकारसँग आह्वान गरिएको उहाँले सुनाउनुभयो । गत जेठ १० गते शनिबार रुकुम जिल्लाको चौरजहारी नगरपालिकामा भएको मानवीय क्षतिको घटनाको तत्काल निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानूनी कारवाही गर्नुपर्ने महासङ्घको ठहर छ । नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई छिमेकी राष्ट्र भारतले अतिक्रमण गरी सडकसमेत निर्माण गरेको विषयमा सरकारले सुगौली सन्धिअनुरुपको राष्ट्रको नक्सा तयार गरेकामा बैठकले धन्यवाद ज्ञापन गरेको छ ।

सो सम्बन्धमा तत्काल कूटनीतिक वार्ताको वातावरण बनाई नेपालको सम्प्रभूतालाई कायम गर्न महासङ्घले आह्वान गरेको छ । पूर्वजले हजारौँ वर्ष पहिले अर्थात् सृष्टिदेखि नै विकास गरेको आदिभाषा संस्कृतलाई विश्वका अन्य देशले समेत अध्यापन गराउन थालेकाले कक्षा १ देखि नै ऐच्छिक विषयका रुपमा पाठ्यक्रममा लागू गर्ने सरकारको योजनालाई सफल बनाउन भूमिका खेल्ने प्रतिबद्धता महासङ्घले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij