• Saturday 25th of July 2026

बाह्य चक्रपथको कालोपत्र गर्ने कार्य शुरु


  • आशाका किरण

कञ्चनपुरको भीमदत्त नगरपालिकाले नगर गौरवको योजनाअन्तर्गत बाह्य चक्रपथको कालोपत्र गर्ने कार्य आजदेखि शुरु गरेको छ । चक्रपथको ब्रह्मदेव तिलकेनी सडक खण्डको तीन किलोमिटर क्षेत्रमा कालोपत्रको कार्य शुरु गरिएको हो । चक्रपथ कालोपत्र गर्ने कार्यको नगर प्रमुख सुरेन्द्र विष्टले आज शुभारम्भ गर्नुभएको छ । चक्रपथ कालोपत्र गर्ने कार्यले नगरवासीको जीवनस्तरमा सुधार ल्याउने उहाँले बताउनुभयो । तीन किलोमिटर कालोपत्र हुने सडक रु पाँच करोड ६७ लाखको लागतमा ठेक्का प्रक्रियामार्फत कालोपत्र हुन लागेको छ । शनिदेव पिएस उच्चकोटी जेभी निर्माण कम्पनीले सडक कालोपत्रको ठेक्का लिएको छ । अठार मिटर चौडाइ रहेको सडकमा फुटपाथ, नाली र बाह्य क्षेत्रमा वृक्षरोपण गरी हराभरा बनाइने छ । नगरपालिकाको बाह्य चक्रपथको कूल लम्बाइ ८४ किलो मिटर छ । स्थानीय तहको चुनावपश्चात् चक्रपथ निर्माणको कार्य शुरु गरिएको हो ।

दुई वर्षभित्रै पूरै चक्रपथ निर्माण गरी कालोपत्र गरिने लक्ष्य लिइएको नगर प्रमुख विष्टले बताउनुभयो । “बाह्य चक्रपथ निर्माण भएपछि नगरवासीको जीवनशैली बदलिन्छ”, उहाँले भन्नुभयो, “शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षित जनावर र मानवबीच हुँदै आएको द्वन्द्वसमेत समाप्त भएर जान्छ ।” उहाँले मानव र जीवजन्तुबीचको सीमा रेखाका रुपमा समेत सडकलाई लिन सकिन्छ भन्दै यसले पर्यटन प्रवद्र्धनमा समेत टेवा पु¥याउने बताउनुभयो । चक्रपथले नगरभित्रका धार्मिक तथा पर्यटकीय क्षेत्रलाई समेत जोड्ने भएकाले नगरको विकासमा नयाँ आयाम थपिने उहाँको भनाइ छ । चक्रपथ निर्माणको कार्य शुरु भएसँगै जग्गाको मूल्य दोब्बरभन्दा बढीले वृद्धि भएको ब्रह्मदेवका स्थानीयवासी शङ्करसिंह विष्टले बताउनुभयो ।

“भरपर्दो सडक नहुँदा विगतमा वर्षात्का बेला नगरपालिका कार्यालय पुग्नै निकै सकस हुने गरेको थियो”, उहाँले भन्नुभयो, “चक्रपथ निर्माणसँगै सहजरुपमा गाडी गुडाएर केही घण्टामै कार्यालय पुग्न थालेका छौँ ।” सडक कालोपत्र हुन थालेपछि झनै बाह्य क्षेत्रमा जानका लागि, कृषि उपज बिक्री गर्न र बिरामी पर्दा अस्पतालसम्म पुग्न सहज हुने उहाँको भनाइ छ । “धेरै चुनाव देख्यौँ । धेरैले अश्वासन पनि दिए । कसैले पनि सहज सडक निर्माणका लागि कार्य गरेनन्”, स्थानीयवासी निर्मला ओखेडाले भन्नुभयो, “स्थानीय तहको निर्वाचनमा दिएको अश्वासन निर्वाचित जनप्रतिनिधिले पूरा गरेका छन् । हामी खुशी छौँ ।” चक्रपथ नगरपालिकाका १९ वटै वडालाई जोड्ने गरी निर्माण हुन लागेको छ । यसले नगरपालिका क्षेत्रभित्रका धार्मिक एंव पर्यटकीय स्थल ब्रह्मदेव, रौटेला, विष्णुमन्दिर, भम्केनी, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, महाकाली नदीमाथिको झोलुङ्गे पुल, र बाराकुण्डालगायतलाई जोडेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij