• Wednesday 9th of September 2026

डेङ्गु सार्ने लामखुट्टेको सर्भे शुरू


  • आशाका किरण

म्याग्दीमा लामखुट्टेको टोकाइबाट सङ्क्रमण फैलिने डेङ्गुको उच्च जोखिममा परेपछि सङ्क्रमति भेटिएका क्षेत्रमा डेङ्गु सार्ने एडिस जातको लामखुट्टेको सर्भे शुरू गरिएको छ । पछिल्लो दुई महिनामा देशभरमा सबैभन्दा धेरै सङ्क्रमित भएको जिल्लामा रुपन्देहीपछि दोस्रोमा म्याग्दी परेपछि स्वास्थ्य कार्यालयको सक्रियतामा बेनी नगरपालिका र मङ्गला गाउँपालिकामा डेङ्गु सार्ने एडिस जातको लामखुट्टेबारे सर्भे शुरू गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले बताउनुभयो । “बेनीबजारमा डेङ्गु सार्ने लामखुट्टे अत्यधिक भेटियो, बेनी डेङ्गु सङ्क्रमणको उच्च जोखिममा छ” लम्सालले भन्नुभयो । स्वास्थ्य कार्यालय बागलुङमा कार्यरत भेक्टर कन्ट्रोल निरीक्षक याम बरालको उपस्थितिमा भइरहेको सर्भेमा बेनीबजारका ग्यारेजमा रहेका टायर, सार्वजनिकस्थान, चौतारीलगायत विभिन्न स्थानमा गरिएको स्थलगत सर्भेमा डेङ्गु सार्ने एडिस जातको लामखुट्टेका भण्डार नै भेटिएको थियो ।

त्यस्तै मङ्गला गाउँपालिकको केन्द्र बावियाचौरमा समेत डेङ्गु सार्ने लामखुट्टे भेटिए पनि सङ्क्रमति भेटिएको गाउँपालिकाका केही स्थानमा भने सर्भेमा नदेखिएको सर्भे टोलीले जनाएको छ । यस वर्ष बेनी नगरपालिका र मङ्गला गाउँपालिकामा डेङ्गुका सङ्क्रमित भेटिएका छन् । सर्भे टोली सङ्क्रमित भेटिएका वडाहरुमा नै पुग्ने जनाइएको छ । टोलीले सर्भेपछि थप योजनासहित डेङ्गु सार्ने लामखुट्टेको लार्भा खोज र नष्ट अभियान सञ्चालन गर्ने जनाएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पहिलो तथ्याङ्कअनुसार वैशाख र जेठ महिनामा देशैभरि ८३ जनामा डेङ्गु सङ्क्रमण भेटिएकामा सबैभन्दा धेरै रुपन्देहीमा १५ र म्याग्दीमा १२ मा डेङ्गु पोजेटिभ देखिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij