• Wednesday 9th of September 2026

गाँजासहित तीन पक्राउ


  • आशाका किरण

ठूलो परिमाणमा लागुऔषध गाँजासहित प्रहरीले वीरगञ्जबाट तीन जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–२७ रामपुर टोलमा लागुऔषध गाँजा ओसारपसार हुँदैछ भन्ने प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी अधिकृत नेतृत्वको टोलीले गएराति ५६ किलोग्राम लागुऔषध गाँजा र त्यसको ढुवानीमा प्रयोग भएको एम्बुलेन्ससहित उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका–१५ का सञ्चारसिंह वाइवाको छोरा २३ वर्षीय जीतबहादुर वाइवा, सोही ठाउँका शोभा सिंह वाइवाका छोरा २२ वर्षीय दिलबहादुर वाइवा र पर्सा बहुदरमाई नगरपालिका–५ भौराटारका रामईश्वर महतोको छोरा ३२ वर्षीय हरिशङ्कर महतो रहेको पर्साको प्रहरी उपरीक्षक गङ्गा पन्तले राससलाई बताउनुभयो ।

उहाँका अनुसार ना४च ८५९९ नंको अल्पाइन मेडिकल कलेज (टिचिङ हस्पिटल) सिमरा बाराको एम्बुलेन्स प्रयोग गरी पर्साको बहुदरमाई नगरपालिका–५ भौराट्टार गाउँतर्फ लैजाँदै गरेको अवस्थामा उक्त परिमाणको गाँजासहित उनीहरुलाई पक्राउ गरिएको हो । यसैगरी तेल ट्याङ्करमा लुकाइछिपाइ भारततर्फ लैजाँदै गरेको अवस्थामा विभिन्न ब्राण्डका रक्सीसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्न सरकारले लागू गरेको बन्दाबन्दीको मौका छोपी तस्करले ना२ख ७३७५ नंको तेलट्याङ्करमा विभिन्न ब्राण्डका रक्सी राजश्व छली चोरी निकासी गरी भारततर्फ लैजाँदै गरेको गोप्य सूचनाका आधारमा यस कार्यालयबाट खटिगएको प्रहरी टोलीले आज बिहान ६ः३० बजे वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट ठूलो परिमाणमा विभिन्न ब्राण्डका रक्सी बरामद गरेको छ ।

गोल्डेल ओक क्वाटर साइजको ४८ थान, नेपाल आइस बियर (क्यान) २४ थान, सिग्नेचर क्वाटर साइजको ३३ थान र ८८४८ ब्राण्डको भोड्का क्वाटर साइज २८ थानसहित प्रहरीले उक्त तेल ट्याङ्करका चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६ का लालबहादुर थिङका छोरा ४७ वर्षीय सन्दीप थिङ र सहचालक सोही ठाउँका पदमबहादुर बुढाथोकीको छोरा वर्ष २२ राधे बुढाथोकी समेतलाई नियन्त्रणमा लिएको छ । रक्सीसहित पक्राउ परेका दुबै जनालाई आवश्यक कानुनी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij