• Wednesday 9th of September 2026

एक वर्षमै भत्कियो सडक र नाला


  • आशाका किरण

तनहुँको शुक्लागण्डकी नगरपालिका–८ स्थित ढोरवाराही मार्ग निर्माण सम्पन्न भएको एक वर्षमै भत्किएको छ । नगरपालिका र स्थानीय उपभोक्ताको लागत साझेदारीमा निर्माण गरिएको सडक एक वर्षमै भत्किएको हो । नगरपालिकाले गत आर्थिक वर्ष २०७५/७६ को बजेटबाट सडक ग्राभेल र कल्भर्ट नाला निर्माण गरेको थियो । तर, उक्त मार्गको केही ठाउँमा सडक भासिएको र नाला भत्किएको स्थानीयवासी दीपक महतले जानकारी दिनुभयो । “गुणस्तरहीन काम गरेका कारण छिट्टै सडक र नाला भत्किएको हो, यसबारेमा अनुगमन गरेर सत्यतथ्य पत्ता लगाउनुपर्छ”, महतले भन्नुभयो । स्थानीयवासी चन्द्रकान्त भण्डारीले के कारणले सडक र नाला भत्किएको यस बारेमा आफूहरु अनभिज्ञ रहेकाले यसको छानबिन गर्नुपर्ने बताउनुभयो । “खोलाका कारण नाला भत्किएको हो, प्राविधिक त्रुटि थियो कि थिएन भन्नेबारेमा हामीलाई जानकारी भएन”, उहाँले भन्नुभयो ।

शुक्लागण्डकी नगरपालिकाका इञ्जीनियर तारापति भट्टराईले नगरपालिकाको रु ६० लाख र स्थानीय उपभोक्ताको रु १२ लाख गरी कूल रु ७२ लाख लागतमा सडक ग्राभेल र नाला निर्माण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार उक्त मार्गको अनुगमनपश्चात उपभोक्ता समितिलाई भुक्तानी दिइएको थियो । इञ्जीनियर भट्टराईले खोलाको आडमा जेसिभी प्रयोग गरी खोला खनिदिएका कारण सडक र नालामा क्षति पुगेको बताउनुभयो । “फाउण्डेशनभन्दा तल लगेर खनेका कारण निर्माण भत्किएको हो”, उहाँले भन्नुभयो, “स्थानीयवासीले जेसिभी प्रयोग गरिदिएका कारण ग्राभेल बाटो चिरा परेको हो ।” उक्त बाटोको अनुगमनका लागि नगरपालिकाले उपप्रमुख सविता रसाइलीको संयोजकत्वमा एक समिति गठन गरेको छ ।

छानबिन माग गर्दै अख्तियारमा उजुरी

सडक र नाला निर्माणमा अनियमितता भएको भन्दै स्थानीयवासी दीपक महतले छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखरामा बिहीबार उजुरी दर्ता गर्नुभएको छ । उजुरीमा कामको जिम्मा लिने व्यक्ति, प्राविधिक र नगरपालिकाको अुनगमन टोली सबै कार्यक्षमतामा आशङ्का भएकाले छानबिन गर्न माग गरिएको छ ।

गल्ती औँल्याउँदा उल्टै पत्र

नाला र सडक भत्किएको विषयमा फेसबुकमा सार्वजनिक गरेपछि महतलाई शुक्लागण्डकी नगरपालिकाले पत्र काटेको थियो । नगरपालिकाका प्रशासन शाखा प्रमुख लक्ष्मण लम्सालद्वारा हस्ताक्षरित उक्त पत्रमा नगरपालिकामा कार्यरत सवइञ्जीनियर अविनाश गुरुङ र अभिलेख पौडेलका सम्बन्धमा सामाजिक सञ्जालमा प्रचार गरेको र उक्त तस्वीरका बारेमा छलफल गर्न बोलाएको उल्लेख गरिएको छ । नगरपालिकाका सूचना अधिकारीसमेत रहनुभएका लम्सालले उक्त विषयका बारेमा निष्पक्ष बुझ्नका लागि उहाँलाई पनि छलफलमा बोलाइएको जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij