• Wednesday 9th of September 2026

भारतीय पेन्सनधारी नेपालीलाई पेन्सन बुझ्न समस्या


  • आशाका किरण

करिब तीन महिनादेखि सीमानाका बन्दा हुँदा भारतीय पेन्सनधारी नेपाली नागरिकलाई समस्या भएको छ । भारतीय सेनाबाट सेवानिवृत्त भएका र अन्य भारतीय सरकारी कार्यालयबाट निवृत्त भएका नेपाली नागरिकलाई पेन्सनको रकम प्राप्त गर्न समस्या भएको हो । भारतीय पेन्सनधारीको पेन्सनवापतको पैसा भारतीय बैंकमै आउने गर्दछ । जारी लकडाउनका कारण सीमानाका बन्द भएपछि गएको तीन महिनायता पेन्सन नपाएको डिलाशैनी–६ का रतनसिंह मालले बताउनुभयो । सीमानाका बन्द हुँदा धेरै समस्या भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोना भाइरसका कारण सीमानाका बन्द हुँदा पेन्सन बुझ्न भारतीय बैंकमा जान पाएको छैन ।” सीमानाका बन्द हुँदा पेन्सन बुझ्न नपाएको र यसले दैनिक घरधन्दा चलाउन नै मुस्किल भएको डिलाशैनी–६ कै जयबहादुर मालले बताउनुभयो । उहाँले भन्नुभयो, “मासिक आउने पेन्सनले घरपरिवार चलाइरहेको थिएँ, लकडाउनले सीमापुल बन्द भएपछि निकै समस्या भएको छ ।”

बैतडी भारतसँग सीमा जोडिएको जिल्ला भएकाले यो जिल्लाका धेरै नागरिक भारतीय सेनाबाट निवृत्त भएका छन् । उनीहरुले मासिकरूपमा पेन्सन पाउँदै आएका भए पनि लकडाउनका कारण पछिल्लो तीन महिनायता पेन्सन पाउन सकेका छैनन् । भारतबाट पेन्सन बुझ्ने नेपालीहरुलाई नाकाबाट प्रवेश गराई समस्या समाधानका लागि भारतको पिथौरागढ जिल्लाका डिएमसँग आफूले कुराकानी र समन्वय गरिरहेको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताउनुभयो । “सीमानाका दुई देशको सहमतिले खुल्ने कुरा हो हामीले चाहेर मात्रै सक्दैनौँ”, उहाँले भन्नुभयो, “भारतीय पक्षले सहमति जनाएपछि हाम्रोतर्फबाट नि तयारी गर्छौँ ।” बैतडीबाट मात्रै करिब दुई हजार बढी नागरिकले भारतको झुलाघाटबाट पेन्सन बुझ्ने गरेका छन् । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण गत चैत ११ गतेदखि सीमानाका बन्द छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij