• Thursday 10th of September 2026

पशुपतिको गुरुयोजना लागू गर्न तिलगङ्गाको बस्ती हटाइँदै


  • आशाका किरण

विश्वसम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न गुरुयोजनाअनुरुप संरचना निर्माणका लागि अधिग्रहण गरिएको जग्गा खाली गराउन लागिएको छ । काठमाडौँ महानगरपालिका वडा नं ८ स्थित तिलगङ्गा आवास क्षेत्रको जग्गा तथा सोमा बनेका पक्की, कच्ची घर, टहरा, गोठ, पर्खाल आदि संरचनासमेत हटाउन सूचना जारी गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो । जग्गाप्राप्ति ऐन २०३४ को दफा ६, ७ र ८ बमोजिम प्रारम्भिक कारवाही भई दफा १० अनुसार २०७० साल जेठ ३० गते जिल्ला प्रशासन कार्यालय काठमाडौँले अधिग्रहण गरेको सूचना जारी गरेको कोषले जनाएको छ । विसं २०७१ वैशाख ५ गते त्यस क्षेत्रका अधिकांशलाई मुआब्जा दिइसकिएको र बाँकीलाई दिन लागिएको कोषका प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले बताउनुभयो ।

मुआब्जा लिइसकेका सबैलाई ३५ दिनभित्र स्थान छोड्न कोषले अनुरोध गरेको छ । सूचनाको बर्खिलाप हुने गरी संरचना नहटाएमा कोषले प्रशासनको सहयोगमा हटाउने पनि उहाँले सुनाउनुभयो । तिलगङ्गामा मुआब्जा लिएर हट्नेलाई कोषले कागेश्वरी मनोहरा नगरपालिका वडा नं ७ गोठाटारमा रहेको जग्गामा जग्गा विकास गरी न्यूनतम् मूल्यमा खरिद गर्नसक्ने व्यवस्था गर्न लागेको छ । गोठाटारमा जग्गा विकास गरी सडक, बत्ती, खानेपानी, टेलिफोन, ढल लगायत सबै पूर्वाधार सुविधा पु¥याउने तयारीसमेत भइरहेको छ । यसअघि पशुपतिको मुख्य क्षेत्रबाट अधिग्रहण गरिएकालाई पनि सिनामङ्गलमा जग्गा विकास गरी बस्ने व्यवस्था मिलाइएको थियो । तिलगङ्गाको जग्गामा भने गुरुयोजनाअनुसार विक्रान्त मन्दिर र नक्षेत्र मण्डल निर्माण गरी धार्मिक पर्यटक आकर्षित गरिने तयारी शुरु भएको छ । यस क्षेत्रमा हाल ७५ देखि ८० घर रहेका कोषले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij