• Thursday 10th of September 2026

रु आठ लाखको आयुर्वेदिक औषधि सरकारलाई हस्तान्तरण


  • आशाका किरण

नेपाल आयुर्वेद औषधि व्यवसायी सङ्घ काठमाडौँले रु आठ लाखको आयुर्वेदिक औषधि नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । सङ्घका केन्द्रीय अध्यक्ष जङ्गराज गिरी नेतृत्वको पदाधिकारी टोलीले सोमबार स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतलाई आयुर्वेदिक विभिन्न प्रकाका तीन हजार ३६४ थान औषधि हस्तान्तरण गरेको हो । औषधि ग्रहण गर्दै राज्यमन्त्री रावतले सरकार कोरोनाविरुद्धको अभियानमा द्रुतगतिमा लागिरहेको बेला महत्वपूर्ण सहयोग गरेको भन्दै सङ्घको टोलीप्रति कृतज्ञता प्रकट गर्नुभयो । उहाँले आयुर्वेद व्यवसायी सङ्घको प्रगतिको शुभकामनासमेत प्रदान गर्नुभएको थियो ।

सङ्घका अध्यक्ष गिरीले नेपाल सरकारको प्रोटोकलमा परेको आयुर्वेदबाटै व्याधिक्षमत्व गर्न देशका सातैवटा प्रदेशमा पुग्ने गरी सरकारलाई रु आठ लाख १२ हजार ७२० को आयुर्वेदिक औषधि हस्तान्तरण गरिएको राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विश्वभर फैलिएको कोरोना महामारीले एलोप्याथिकभन्दा आयुर्वेदिक औषधि मानव प्रतिरक्षा प्रणालीका लागि अति जरुरी सिद्ध भएको छ । जसअनुसार हामीले शक्तिवद्र्धक आयुर्वेदिक औषधि हस्तान्तरण गरेर सरकारको साथमा छौँ भन्ने सन्देश दिएका छौँ ।”

देशैभरि क्वारेन्टिनमा रहेका नागरिकलाई पुगोस् भनेर रु छ लाखको दुई हजार ५०० थान गुडुची चूर्ण, रु ३९ हजार ६०० को १२० थान अश्वगन्धा क्याप्सुल, रु १७ हजार ९२० को ६४ थान च्यवनप्राश, रु १८ हजारको १२० थान आमलकी चूर्ण, रु सात हजारको ६० थान त्रिकटु चूर्ण र रु एक लाख ३० हजारको ५०० थान गिलोयप्लस प्रवाही हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार सङ्घले गत वैशाख २० गते उदयपुर भुल्केका कोरोना रोगीलाई केन्द्रित गरेर रु ४५ हजारको आयुर्वेदिक औषधि प्रदेश नं १ सरकारलाई सहयोग गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij