• Tuesday 8th of September 2026

रोल्पामा महिला तथा बालबालिका हराएउने क्रम बढ्दो


  • आशाका किरण

रोल्पामा बर्सेनि महिला, बालबालिका हराउने क्रम बढ्दै गएको छ । जिल्लाबाट बितेका तीन वर्षमा महिला र बालबालिका गरी ११० हराएका छन् । हराउनेमा ३५ बालबालिका र ७५ महिला छन् । यसरी हराएकामध्ये प्रहरीको मद्दतबाट ६५ महिला र ३३ बालबालिका फेला परेका छन् भने अझै १२ जना हराइरहेका छन् । जिल्ला प्रहरी कार्यालय महिला, बालबालिका सेवा केन्द्र रोल्पाका अनुसार आर्थिक वर्ष २०७५÷७६ मा ४९ महिला, २६ बालबालिका हराएका थिए । यसरी हराएका महिला बालबालिकामध्ये ६९ मात्रै फेला परे । सो वर्ष हराएका छ जना अझै पनि भेटिएका छैनन् । यस्तै आव २०७६÷७७ मा ३५ महिला तथा बालबालिका हराए । हराएकामध्ये सो वर्ष पनि २९ फेला परे भने छ जना अझै फेला पर्न सकेका छैनन् । जिल्लाबाट अघिल्लो आवमा ७५ महिला, बालबालिका हराए । यसरी हराएकामध्ये ६९ मात्रै फेला परे । यस वर्ष पनि छ जना नै अझै फेला पर्न सकेका छैनन् ।

हराएका महिला तथा बालबालिकाका अभिभावकले दिएको सूचनाका आधारमा खोजी गर्न देशभरका प्रहरी युनिटमा हुलियासहित जानकारी गराइने गरेको जिल्ला प्रहरी कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रका इन्चार्ज मीना विकले बताउनुभयो । “हुलियाकै आधारमा प्रहरीले हराएकालाई फेला पार्ने गरेको छ”, विकले भन्नुभयो । हराएकामध्ये ठूलो सङ्ख्याका महिला तथा बालबालिकालाई प्रहरीले काठमाडौँका इँटाभट्टामा फेला पार्ने गरेको छ । इँटाभट्टामा काम गर्ने गाउँकै नाइकेले ललाइफकाई लैजाने भएकाले अधिकांश महिला, बालबालिका परिवारलाई जानकारी नदिई भाग्ने गरेको पाइन्छ । राम्रो लाउने, मिठो खाने लहडमा दलालको जालमा फसेर परिवारका सदस्यलाई जानकारी नै नदिई भाग्नेको सङ्ख्या ठूलो रहेको प्रहरीले जनाएको छ । हराएको भनी उजुरी परेकामध्ये केही महिला तथा बालबालिका भने घर फर्किसकेका छन् ।

अभिभावकले दिएको हुलियाका आधारमा प्रहरीले खोजी गर्दा र आफैँ घर फर्केका समेत प्रहरीले जानकारी दिएको छ । बितेको तीन वर्षमा ९८ घर फर्किसकेको प्रहरीले जनाएको छ । प्रहरीको तथ्याङ्कअनुसार अझै १२ जना फेला पर्न सकेका छैनन् । यसरी हराएका अधिकांश महिला वैवाहिक सम्बन्ध स्थापित गर्न आफूखुशी हिँड्ने गरेको प्रहरीले बताएको छ । परिवारलाई अत्तोपत्तो नदिई घर, विद्यालय, पसल, घाँसदाउरा तथा पँधेराबाटै हराउँदा परिवारलाई मानसिक तथा शारीरिक तनाव हुने गरेको बताइन्छ । हराएका सदस्यको खोजीमा लामो समय बित्ने गरेको हराएकाहरुका अभिभावकले दुःखेसो पोख्ने गर्दछन् ।

घरका सदस्यले मादक पदार्थ सेवनले हुने पारिवारिक बेमेलले गर्दा महिला घर छाड्न बाध्य हुने गरेको पाइएको माहिला मानवअधिकार रक्षक सञ्जालका अध्यक्ष तीर्था आचार्यले बताउनुभयो । “गरिबी, चेतना अभाव, मादक पदार्थ सेवन, पारिवारिक बेमेललगायतका कारण महिला तथा बालबालिका घर छाड्न बाध्य हुने गरेको पाइन्छ”, आचार्यले भन्नुभयो । आफूखुशी हिँडेका महिला तथा बालबालिका देशका विभिन्न इँटाभट्टा, होटल तथा भारतका विभिन्न स्थानमा रोजगारीमा संलग्न हुने गरेको समेत उहाँले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij