• Saturday 25th of July 2026

पहिरा पीडितको बास पालमुनि, बालबालिका जोखिममा


  • आशाका किरण

–विमलबहादुर विष्ट जिल्लाको पश्चिमी क्षेत्रस्थित सायल गाउँपालिका–२ भुर्केला गाउँ पहिराको उच्च जोखिममा रहेको छ । गाउँमाथि र तलबाट पहिरा आउन थालेपछि सिङ्गो गाउँका ३९० जना अहिले गाउँ छोडेर गाउँमाथिको अग्लो डाँडामा पालमुनि बस्नु परेको छ । गएको शनिबार आएको ठूलो पहिराका कारण उक्त गाउँका ३५ घरपरिवार आफ्नो गाउँ छोडेर विस्थापित भएका छन् । पहिराका कारण गाउँ छोडेर गएकाहरु अहिले साउन महिनाको झरीमा पालमुनि रात बिताउन बाध्य भएका छन् । पालमुनि बास भएका कारण उनीहरुलाई राति सुत्दा सर्प, मच्छर र जङ्गली जनावरले सताउने गरेको सायल गाउँपालिकाका स्थानीयवासी धर्मराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “पूरै गाउँले पहिराको डरले गाउँ छोडेर जङ्गलको अग्लो डाँडामा पाल टाँगेर बसेका छन्, त्यहाँ सर्प, मच्छर र जङ्गली जनावरले उनीहरुलाई सताउने गरेको छ ।”

त्यसैगरी शौचालय, खानेपानी तथा उज्यालोका लागि बत्तीसमेत नहुँदा उनीहरुलाई दिनहुँ सास्ती हुने गरेको सायल गाउँपालिका तोलेनीका अर्का स्थानीय तथा व्यापारी हिमाल बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “विस्थापितलाई खानेकुरो त छोडौँ, शौचालय गर्ने ठाउँ र शुद्ध पानी नहुँदा समस्या भएको छ, फोहर पानी प्रयोग गरेकाले पखाला हुने सम्भावना बढेको छ ।” विस्थापित भएका परिवारहरुसँग केटा केटी भएका कारण बस्न, खानदेखि अन्य कामका लागि पनि निकै समस्या हुँदै आएको स्थानीयवासी बताउँछन् । पहिराले विस्थापित भएको तीन दिन भइसक्दासमेत कुनै पनि निकायबाट राहत उपलब्ध नभएको भन्दै पीडितहरुले गुनासो गरेका छन् । उनीहरु भन्छन्, “पहिराले हाम्रो सम्पत्ति त लग्यो, बाँच्नलाई भए पनि एक छाक खाने कुरो त देऊ ।”

गाउँमा बर्सेनी रुपमा वर्षायाम लागेपछि डर त्रासमा बस्नु परिरहेका बेला लगातार पानी पर्दा गाउँको छेउछाउमा पहिरा जान थालेपछि सुरक्षित बासका लागि गाउँ छोडेर पालमुनि बस्नु परेको पहिरा पीडितको भनाइ छ । सायल गाउँपालिकाका उपाध्यक्ष विष्ना सिंहले गाउँको तल र माथिबाट पहिरो जान थालेपछि भुर्केला गाउँवासी केही दिन पहिलेदेखि विस्थापित भएर पालमुनि बसेको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिराका कारण भुर्केलाका नागरिक विस्थापित भएका छन्, उनीहरुलाई आरभिआरएम्पी संस्थाको सहयोगमा पाल, पानी राख्ने भाडाको व्यवस्था गरेका छौँ, अब अन्य व्यवस्थापनका लागि पहल भइरहेको छ, चाँडै खाद्यान्नलगायत अन्य राहत वितरण गर्नेछौँ ।” विस्थापित भएकाहरुसँग खानलाई अन्नको एक दानासमेत नभएका कारण भोकभोकै बस्नुपर्ने अवस्था सिर्जना भएको पहिरा पीडितमध्येका एकजना धनबहादुर थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “खानेकुरो सबै गाउँमै छुट्यो हामीसँग खानलाई पनि केही पनि छैन, आफू त भोक सहन गर्न सक्छौँ, केटाकेटीलाई खान के दिऊँ समस्या भयो ।” उक्त गाउँमा प्रायः जसो थापा जातिको बढी बसोबास रहँदै आएको छ । अहिले दैनिक बर्सात भइरहेका कारण पहिराको डरले ३५ घरधुरीका गाउँले गाउँ छोडेर डाँडामा बास बसिरहेका छन् । उनीहरु घाम लागे घर फर्किने तथा पानी पर्दा डाँडातिर बसाइँ सर्ने गरेको स्थानीय हर्क थापाले जानकारी दिनुभयो । पहिराको समस्या वर्षौंदेखि हुँदै आए पनि आफूहरुको समस्या समाधानका लागि कसैले पनि उचित पहल नगरेको पीडितहरुको गुनासो छ । विस्थापित भएकाहरुको सुरक्षित बासको व्यवस्था चाँडो नभए पहिराले कुनै दिन गाउँ नै सामूहिक चिहान बन्ने खतरा बढेको स्थानीयवासी डम्मर सार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिराले पूरै गाउँ खतरामा परेको छ, गाउँलेको सुरक्षित बासस्थानको व्यवस्थापन नगरिए सामूहिक चिहान हुने पक्कापक्की छ ।” गाउँपालिले दिएका पाल पनि झरी र हावाहुरीले च्यातिएका कारण पानी पालभित्र पस्दा राति सुत्ने समयमा झनै समस्या हुने गरेको पीडितहरुको गुनासो छ । वर्षातका कारण पालमुनि रहेका बालबालिकामा ज्वरो आउने, रुघाखोकी लाग्ने जस्ता समस्या देखिएको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij