• Friday 11th of September 2026

सोलु खोलामा पानीको बहाव उच्च


  • आशाका किरण

दूधकुण्ड ताल मुहान भई बग्ने सोलु खोलामा पानीको बहाव बढेको छ । आज बिहानदेखि पानीको बहाव उच्च देखिएको खोला किनारका बासिन्दाले बताएका छन् । सोलुदूधकुण्ड नगरपालिका–२ बेनीको खोला किनारमा २०१९ सालमा निर्माण गरिएको बाँध कटेर नदी बस्तीमा प्रवेश गरेको बेनी हाइड्रोपावरका जनसम्पर्क अधिकृत फुदोर्जी शेर्पाले बताउनुभयो । शेर्पाका अनुसार बिहानभन्दा अहिले पानीको सतह अत्यधिक बढेको छ । मौसम सफा भए पनि खोलामा पानीको बहाव बढ्नाले जोखिम महसुस भएको उहाँको भनाइ छ । गए राति ठूलो स्वरमा आवाज आए पनि कुन ताल फुटेको हो या पहिरो गएको भन्ने यकिन नभएको दूधकुण्ड क्षेत्रमा रहनुभएका लाक्पा लामाले बताउनुभयो । दूधकुण्ड पोखरी र अन्य दर्जनाँै साना पोखरीबाट बग्ने खोलाको सङ्गमस्थल शहर बेनीभन्दा माथिबाटै धमिलो खोला आएको उहाँको भनाइ छ ।

“कुन पोखरी फुट्यो, त्यो त थाहा भएन, राति चाहिँ ठूलो आवाज आएको हो”, लामाले भन्नुभयो, “हामीलाई पनि रात बिताउन गाह्रो भयो, अहिले सल्लेरीतर्फ झर्दैछौँ ।” नदीको मुहान क्षेत्रमा अहिले पानीको सतह क्रमैसँग घटेको भए पनि वास्तविकता भने पत्ता लगाउनुपर्ने उहाँको भनाइ छ । खोलामा पानीको बहाव उच्च भएसँगै किनार क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको सोलुखुम्बुका प्रहरी निरीक्षक मन्दीप चौहानले जानकारी दिनुभयो । “जिल्ला विपद् व्यवस्थापन समितिको टोली आवश्यक तयारीका साथ बसेको छ”, प्रहरी निरीक्षक चौहानले भन्नुभयो, “खोलामा पानीको बहाव घटेको भए पनि स्थलगत निरीक्षणको तयारीमा छाँै ।”

बाढीका कारण सोलु खोलामा निर्माणाधीन १९ मेगावाट क्षमताको बेनी हाइड्रोपावरको इन्टेक तथा विद्युत्गृह क्षेत्रसमेत जोखिममा परेको बताइएको छ । यस्तै २३.५ मेगावाट क्षमताको माथिल्लो सोलु हाइड्रोपावरमा समेत क्षति पुग्न सक्ने अनुमान गरिएको छ । कारणवश खोलामा बाढी आएका खण्डमा कम्तीमा तीन बस्तीका हजाराँै नागरिक विस्थापित हुनेछन् । जिल्ला सदरमुकामदेखि ३० कोस उत्तरपूर्व क्षेत्रमा दूधकुण्ड पोखरी पर्छ । उक्त पोखरीको तलतिर विगत १० वर्षदेखि सानोसानो पहिरो खस्ने क्रम जारी रहेकाले ताल जोखिममा रहेको अध्ययनकर्ता हिमाल गिरीको भनाइ छ । समयमा नै तालको संरक्षण नगरे जोखिम बढी हुने उहाँको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij