• Friday 11th of September 2026

सुशील कोइरालाको योगदान स्मरण


  • आशाका किरण

नेपाली काँग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको जन्मजयन्तीका अवसरमा आज पोखरामा आयोजित कार्यक्रममा उहाँको योगदानको स्मरण गरिएको छ । नेपाल प्रेस युनयन कास्कीको संयोजनमा जिपी कोइराला फाउन्डेशन क्षेत्र नं २ द्वारा सञ्चारकर्मीका लागि गरिएको ज्याकेट वितरण कार्यक्रममा वक्ताहरूले राष्ट्र, राष्ट्रियता एवम् सार्वभौमिकताका पक्षमा कोइरालाले गर्नुभएको योगदान चिरकालसम्म जीवन्त रहने बताउनुभयो । कार्यक्रममा संविधानसभा सदस्य एवम् जिपी कोइराला फाउन्डेशन गण्डकी प्रदेशका संयोजक शारदा पौडेलले सुशील कोइलाले नेपाली राजनीतिमा देखाउनुभएको त्याग तथा समर्पण सबैका लागि अनुकरणीय भएको बताउनुभयो ।

समाजमा सूचनाको संवाहक सञ्चारकर्मीको पेशागत हक हितका स्थापनाका लागि फाउन्डेशन सँधै तयार रहेको बताउँदै उहाँले समाचार सङ्कलनमा निस्कँदा सहज होस् भन्ने उद्देश्यले यसअघि पनि फाउन्डेशनका तर्फबाट स्वास्थ्य सामाग्रीसहित ज्याकेट वितरण गरिएको बताउनुभयो । कार्यक्रममा जिपी कोइराला फाउन्डेशन क्षेत्र नं २ का अध्यक्ष वसन्त चालिसेले समाजमा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष एवम् नेपाली काँग्रेस कास्कीका प्रवक्ता नविन सिग्देल, नेपाल पत्रकार महासङ्घ कास्कीका उपाध्यक्ष विमला भण्डारी, विजयराज आचार्यलगायतले स्व कोइरालाको योगदानबारे चर्चा गर्नुभयो । सो अवसरमा विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीलाई फाउन्डेशनका गण्डकी प्रदेश संयोजक पौडेल, क्षेत्र नं २ का अध्यक्ष वसन्तराज चालिसे र प्रेस युनयन कास्कीका अध्यक्ष सिग्देलले ज्याकेट हस्तान्तरण गर्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij