• Friday 11th of September 2026

स्याली नदीको बहाव परिवर्तन हुँदा विद्यालय उच्च जोखिममा


  • आशाका किरण

स्याली नदीको बहाव परिवर्तन हुँदा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ मरघटैया शिविरस्थित मिलन आधारभूत विद्यालय जोखिममा परेको छ । स्याली नदीले दिशा परिर्वतन गर्दै शिविरको उत्तरतर्फको भागबाट कटान गर्न थालेपछि सो विद्यालय जोखिममा परेको हो । लगातारको वर्षाका कारण नदीको पानीको बहाव उच्च बनेपछि जग्गा कटान गर्न थालेको वडाध्यक्ष बाले रानाले बताउनुभयो । “विद्यालय रहेकै क्षेत्रबाट नदीले जग्गा कटान गर्न थालेपछि विद्यालय जोखिममा परेको छ”, उहाँले भन्नुभयो, “तत्काल नदी नियन्त्रणको पहल नभए विद्यालयसँगै बस्तीका बासिन्दासमेत प्रभावित हुने देखिएका छन ।”

केही वर्षअघि नदीमा रु एक करोड बढी रकम खर्चिएर तारजालीसहितको ढुङ्गाको तटबन्ध बनाइएपछि नदीले धार परिवर्तन गरी बग्न थालेको थियो । लगातारको वर्षाले नदीको धार विद्यालय रहेको क्षेत्र भएर बग्नेक्रमसँगै जग्गा कटान गर्न थालेको छ । विद्यालय नजिकै निर्माण भइरहेको राना थारु सङ्ग्रहालयसमेत नदीको उच्च जोखिममा परेको स्थानीयवासी नवलसिंह रानाले बताउनुभयो । विसं २०६५ मा आएको विनाशकारी बाढीबाट शिविरका दुई दर्जन बढी परिवार विस्थापित भएका थिए । विस्थापित केही परिवारलाई अन्यत्र पुनःस्थापन गरे पनि अझै पनि केही परिवार पुनःस्थापनको पर्खाईमा नजिकैका सामुदायिक वनमा झोपडी बनाइ बस्दै आएका छन ।

बाढीले त्यही बेला बस्तीमा रहेको विद्यालयका भवन र जग्गा बगाएको थियो । विद्यालय बगेपछि स्थानीयवासीको प्रयासमा अर्को ठाउँमा विद्यालय पुनःस्थापन गरिएको हो । विद्यालय पुनःस्थापन गरिएको क्षेत्रमा समेत नदीले कटान गर्न थालेपछि स्थानीय बासिन्दा निकै चिन्तित भएका छन् । “बस्तीमा रहेको विद्यालय बगेपछि विगतमा बालबालिकालाई गोठ र आँगनमा राखेर पढाउनुपर्ने बाध्यता थियो”, रामप्रसाद रानाले भन्नुभयो, “अथक प्रयासपछि गत वर्ष नै बस्तीमा जग्गाको व्यवस्था गरी दुईकोेठे विद्यालय भवन निर्माण गरी पठनपाठनको कार्य शुरु गरेपछि पुनः नदीले विद्यालय बगाउनै आँटेको छ ।

विद्यालय संरक्षणका लागि तत्काल तटबन्ध निर्माण गर्नेतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्दछ ।” शुक्लाफाँटा नगरपालिका– १ खजुवापट्टिस्थित चितौरा खोलामा दुई वर्षअघि निर्माण गरिएको कल्भर्टको पर्खाल भत्किएको छ । कल्भर्टको पर्खाल भत्किएपछि कल्भर्ट भत्किने सम्भावना उच्च रहेको छ । कल्भर्ट भत्किए स्थानीयवासीलाई खोला तर्न निकै समस्या हुने देखिएको छ । स्थानीयवासीका अनुसार कल्भर्ट निर्माणको कार्य सन्तोषजनकरुपमा नगरिँदा यो भत्किएको हो । कल्भर्ट नजिकैको जग्गासमेत खोलाको पानीले बगाउन थालेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij