• Friday 11th of September 2026

लागूऔषधसहित एक युवा पक्राउ


  • आशाका किरण

लागूऔषधसहित पक्राउ परेका एक युवालाई दार्चुला प्रहरीले आज सार्वजनिक गरेको छ । आइतबार बेलुकी सदरमुकाम खलङ्गाको बङ्गाबगड क्षेत्रबाट ठूलो परिणामा लागूऔषधसहित पक्राउ परेका दुहुँ गाउँपालिका­२ स्थायी घर भई हाल महाकाली नगरपालिका­४ तिङ्कर खेडामा बस्दै आएका ३४ वर्षीय गणेशराम भूललाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । बङ्गाबगड लास्कुखोला किनार हुँदै आएका ती युवकले बोकेको बोरा शङ्कास्पद वस्तु रहेको आशङ्कामा प्रहरीले जाँच गर्दा भुलबाट लागूऔषध फेला पारेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो ।

भूलको साथबाट कोरेक्स २२ सिसी र स्पाश ५३ पत्ता बरामद गरिएको छ । सोधपुछको क्रममा भूलले प्रहरी जवान नरेन्द्र टेरमाथि नै आक्रमण गरेको प्रवक्ता जोशीले बताउनुभयो । लागूऔषधसहित पक्राउ परेका भूललाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उहाँमाथि मुद्धा दर्ताको तयारी भएको प्रहरीले जनाएको छ । यसअघि बन्दाबन्दीको समयमा प्रहरीले दार्चुलामा तीन जनालाई लागूऔषधसहित पक्राउ गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij