• Saturday 12th of September 2026

नुवाकोटमा निषेधाज्ञा एक साता थपियो


  • आशाका किरण

कोभिड–१९ को सङ्क्रमण रोक्न नुवाकोटमा जारी रहेको निषेधाज्ञा एक साता थप गरिएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको मङ्गलबार बसेको बैठकले निर्णय गरेअनुसार गएराति १२ बजेदेखि लागू हुने गरी एक साताका लागि निषेधाज्ञा लगाइएको केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले बताउनुभयोे । गत साउन २५ गतेदेखि १० दिन लगाइएको निषेधाज्ञालाई निरन्तरता दिने गरेर रोगको सङ्क्रमण थप फैलन नदिन पुनः एक साताका लागि बढाइएको छ ।

स्थानीय प्रशासन ऐन र सङ्क्रामक रोग ऐनअनुसार जारी गरिएको निषेधाज्ञा जिल्लाको विदुर र बेलकोटगढी नगरपालिकासहित लिखु, सूर्यगढी, दुप्चेश्वर, पञ्चकन्या र शिवपुरी गाउँपालिकाको सबै स्थानमा तोकिएको छ । यसैगरी तादी गाउँपालिकाको वडा नं २, ३, ४ र ५, तारकेश्वर गाउँपालिकाको वडा नं २, ४, ५ र ६ र ककनी गाउँपालिकाको पासाङ ल्हामु राजमार्ग आसपासमा पर्ने वडा नं १, २, ४ र ६ का सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा कायम हुने निर्णय गरिएको हो । निषेधाज्ञा जारी भएका क्षेत्रमा औषधि उपचार, खाद्यवस्तु खरिद, आफ्नै खेतबारीमा कृषिजन्य काम गर्नलगायत अति आवश्यक कामका लागिबाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन नपाउने, एम्बुलेन्स, बिरामी बोकेका गाडी, खाद्यवस्तु, तरकारी, दूध, खानेपानी, पेट्रोलियम पदार्थ बोक्ने गाडी, शव वाहन, फोहर व्यवस्थापन गर्ने गाडी, पशुपक्षीका दाना बोक्ने गाडी, सञ्चारकर्मी, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्ने साधन तथा अनुमति प्राप्त सवारी साधनबाहेक अन्यलाई चल्न नपाउने व्यवस्था गरिएको छ ।

अत्यावश्यक उपभोग्य वस्तु बिक्री गर्ने खाद्यान्न पसल, पेट्रोल पम्प, ग्यास डिपो, औषधि पसलबाहेकका अन्य पसल, उद्योग, व्यवसाय सञ्चालन गर्न नपाउने भनिएको छ । खाद्यान्न पसलसमेत बिहान ६ बजेदेखि १० बजेसम्म दैनिक चार घण्टा मात्र खोल्न दिने निर्णय बैठकले गरिएको छ । निषेधाज्ञा तोकिएको क्षेत्रमा स्वास्थ्य संस्था र अत्यावश्यक सेवा प्रवाहका कार्यालय खुल्न पाउने छन् भने बैंक, वित्तीय संस्था, सहकारी संस्थासहित सरकारी, निजी तथा गैरसरकारी क्षेत्रका कार्यालयको सेवा बन्द गर्न भनिएको छ । धार्मिक, सांस्कृतिक, सामाजिकलगायतका कुनै प्रकारका जमघट तथा भेला हुने क्रियाकलापमा पनि रोक लगाइएको छ ।

जिल्ला भित्रिने सबै नाकाबाट अतिआवश्यक सेवाका सवारीसाधन, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका सवारीसाधनबाहेक अन्य सवारी साधन र पैदल यात्रुलाई समेत आवतजावतमा रोक लगाइएको छ । नुवाकोटका प्रजिअ ढकालका अनुसार कोरोना रोगको सङ्क्रमणबाट नुवाकोटमा हालसम्म ७२ जना सङ्क्रमित देखिएका छन् । सङ्क्रमितमध्ये ३१ जना समुदायस्तरमा देखिएको र उनीहरुको स्रोत समुदायबाटै फैलिएको पुष्टि भएसँगै थप सङ्क्रमण फैलन नदिन निषेधाज्ञा बढाइएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij