• Saturday 25th of July 2026

अछाममा बाढीका कारण बगेका १२ को शव फेलाः ५ को खोजी


  • आशाका किरण

गए राति करीब १ बजे अछामको कैलाश खोलामा आएको बाढीका कारण बगेर बेपत्ता भएका १७ मध्ये १२ जनाको शव भेटिएको छ । रामारोशन गाउँपालिका–५ सैनीबजारबाट बगाएका स्थानीयवासीको शव निकै टाढा कम्तीमा दुई घण्टा लाग्ने ठाउँमा भेटिन थालेको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताउनुभयो । उहाँले भन्नुभयो, “सैनीबजारमा रहेका ३० वटा पसलसहित १७ जना बगाएको छ, खोजीमा खटिएको टोलीले निकै टाढा शव भेटाएको छ, खोलामा अहिलेसम्म पनि ठूलो बाढी आएका कारण खोजीमा निकै समस्या हुँदै आएको छ ।”

नेपाली सेनाको एआइ १७ हेलिकप्टर बाढीले बगाएकाहरुको खोजीका लागि परिचालन भएको श्री नं ५ बाहिनी अड्डा दिपायल राजपुरका बाहिनीपति सहायकरथी होमनाथ दवाडीले जानकारी दिनुभयो । उक्त खोजीमा अछामका प्रजिअ उपाध्याय, भवानी बक्सका गणपति लोचन कार्की तथा जिल्ला प्रहरी कार्यालयका डिएसपी योगेन्द्रसिंह थापासहितको टोली खटिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नामा ६ तथा मङ्गलसेन नगरपालिका–३ मा पर्ने लमतणा र सेरीमा ६ जना गरी जम्मा १२ जनाको शव भेटिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख मुकेशकुमार सिंहले जानकारी दिनुभयो ।

उहाँका अनुसार भेटिएका शवमा लुगा नभएका र पहिचान हुने कुनै चिज नभएका कारण अहिलेसम्म पहिचान हुन सकेको छैन । गए राति ठूलो वर्षात्का कारण उक्त खोलामा बाढी आएका कारण आआफ्ना पसलमा सुतेका स्थानीयवासीलाई बगाएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । बाढीले बगाएर बेपत्ता भएकाको खोजीका लागि बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जनप्रतिनिधि तथा स्थानीयवासीको टोली खटिएको रामारोशन गाउँपालिकाका अध्यक्ष झङ्करबहादुर साउदले बताउनुभयो । उहाँले भन्नुभयो, “बाढीले बगाएर बेपत्ता भएकाहरुको खोजीका लागि बिहानैदेखि टोली खटिएको छ, ठूलो जनधनको क्षति भएको छ, खोजी गर्दै छौँ ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij