• Friday 24th of July 2026

हराउँदै तीजको मौलिकता


  • आशाका किरण

तानसेन, ५ भदौ (रासस) : हरितालिका महिलाले दुःख पीडा र गुनासालाई व्यक्त गर्ने पर्वका रुपमा मानिन्छ । विभिन्न टोलका महिला जम्मा भएर र छोरीचेलीलाई निम्तो दिएर चौतारी, चौर तथा घरका आँगनमा नाच्दै वेदना पोख्ने पर्व पछिल्लो समय भने फेरिँदै भएको छ । तीजका पुराना भाकाको ठाउँ आधुनिक गीतले लिएको छ । छोरी भएकै कारण गरिने विभेद, गाउँमा हुने घटना, सासूबुहारीका गुनासा, श्रीमान्श्रीमतीका व्यवहार, भगवान्का नामका गीत, माइतीले नबोलाएका कुरा र भाउजूबुहारीले हेला गरेका कुरा समेटी गाउँमा भेला भएर गाउने तीज गीतका भाका आजभोलि बजारमा रेकर्ड भएका विभिन्न खाले गीतले नै विस्थापन गरिदिएको छ । “भगवान्लाई भेट्दा के के पाहुर चाहिन्छ, यति मलाई बताइदेउ, एकुमा चाहिन्छ श्रीखण्ड चन्दन बरिलै दोसरी बेलपत्र नि बरिलै दोसरी बेलपत्र” जस्ता गीत कालीगङ्गामा स्नानका क्रममा भेला भएर नदीकै किनारमा गाएर नाच्ने चलन थियो ।

आजभोलि गीत घन्काउने, नाच्ने र सामाजिक सञ्जालमा पोष्ट गर्ने प्रवृत्ति बढ्दै गएको छ । रामपुर नगरपालिकाकी लक्ष्मी तिवारी बुढेसकालमा पनि आफूले गीत सिर्जना गरेर गाउने बताउनुहुन्छ । उहाँले तीजकै बेला दुई गीत रेकर्ड समेत गराउनुभएको छ । पहिलेपहिले जस्तै गीतका भाका गाउने हो भने गाउँमा गाइने झोराको महत्व रहेको तर गीत जुराएर गाउनेको कमी भएको तिवारीको बुझाइ छ । ठूलो आवाजमा गीत घन्काउने र नाच्ने चलन बढ्यो तर मौलिक तीजका भाव बोल्ने गीत नै सुन्न छाडिएको महिला बताउँछन् । तीज आउनुभन्दा पहिल्यै धान गोड्ने, कोदो रोपेर सक्ने अनि दुईतीन दिनलाई गाईभैंसीलाई घाँस काटेर माइत जाने चलन आजकल कथा जस्तो बनेको रामपुरकी दुर्गा आचार्य बताउनुहुन्छ ।

गाउँभरि चेलीबेटी आउँदा राति लालटिन र राँको बालेर खेतको आली पार गर्दै वल्लो गाउँ र पल्लो गाउँ पालो गरेर झोरा लगाउने चलन हराउन थालेको छ । धेरै दिनसम्म नै नाचेर हिँड्दा खुट्टा दुख्थे, स्वर सुक्थ्यो । आजभोलि तीजको महत्व हराएको छ । मादल बजाएर गाउने नाच्ने चलन लोप हुन थाल्यो । जनैपूर्णिमादेखि नै गाउँमा तीजका गीत गाउने, तीजको अघिल्लो दिन दर खाने र पूर्णिमासम्म नै गीत गाउने चलन हराउँदै गएको छ । पहिले तीजको अघिल्लो दिन बिहानदेखि रातिसम्म खाजा, खीर, चिच्चर, सेलरोटीलगायत विभिन्न प्रकारका खानेकुरा तयार पारेर खाने र तीजको दिन व्रत बस्ने गरिए पनि पछिल्लो समय भने एक महिनाअघिदेखि नै दर खाने, होटल र पार्टी प्यालेसमा रमाउने चलन बढेको कुन्तादेवी गैरेको भनाइ छ ।

रातिसम्म दर खाने र त्यही दरले आड दिएर भोलिपल्ट तीजमा व्रत बस्न सहज हुने महिलाले बताउने गरेका छन् । तीजमा निराहार व्रत बसी श्रीमान् तथा परिवारको दीर्घायुको कामना गर्ने र ऋषिपञ्चमीमा सप्तर्षिको पूजा गर्ने चलन छ । यस वर्ष भने कोरोना भाइरसको महामारी फैलिएका अवस्थामा यसको सङ्क्रमण रोक्न पनि घरमै तीज मनाउन भनिएको छ । यस वर्ष कोरोनालाई जित्न सके तीज पर्व आउने सालमा मनाउन पाइने महिला बताउँछन् । नजीकका चेलीबेटी दर खान पुगे पनि टाढाका छोरीचेली माइती आउन पाएका छैनन् । घरमै परिवारसँगै गीत बजाएर नाचेका भिडियो भने सामाजिक सञ्जालमा धेरै देखिन्छन् ।

केही वर्षयता पाल्पा, स्याङ्जा, तनहुँ र नवलपरासीको सङ्गमस्थल रामपुर नगरपालिका उपत्यका आसपासमा दैनिकजसो तीजगीत प्रतियोगिता भए पनि यस वर्ष भने रोकिएको छ । गाउँमा गाइने तीजभाका प्रतियोगितामा गाएको मात्रै सुन्न पाइए पनि यस वर्ष भने सङ्क्रमणको समय भएकाले रोेकिएको छ । सरकारले घरमै रमाउन भनेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन जिल्ला प्रशासन कार्यालय पाल्पाले यही भदौ ५ गते राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा पनि जारी गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij