• Friday 24th of July 2026

पुख्र्यौली नाच जोगाउँदै ज्येष्ठ नागरिक


  • आशाका किरण

बेनी (म्याग्दी), १९ कात्तिक : म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा जनजाति समुदायको बाहुल्यता रहेको छ । यहाँका स्थानीय पुख्र्यौली संस्कृतिका रुपमा रहेको मादले मारुनी नाच र सोरठी भाका संरक्षणमा जुटेका छन् ।

वडा नं ३ को हरेक टोल र बस्तीस्तरमा पुख्र्यौली समूह छन् । भकिम्लीका डोले, चिनाखेत, मुसुङ, राखु लगायतका बस्तीमा पुख्र्यौली समूह गठन गरेर स्थानीयवासी मौलिक संस्कृति संरक्षणमा सक्रिय भएका हुन् । गाउँमा हुने सार्वजनिक कार्यक्रममा अतिथिको स्वागतमासमेत उनीहरुले पुख्र्यौली नाचलाई प्रदर्शन गर्दै आएका छन् ।

स्थानीय ८८ वर्षीय तुलबहादुर पुनले ३६ वर्ष मादले र ३६ वर्ष मारुनीको भूमिकामा पुख्र्यौली नाच नाच्नुभयो । बुढ्यौली लागेपछि उहाँले अहिले सोरठी गाउन थाल्नुभएको छ । गाउँमा हुने सांस्कृतिक कार्यक्रममा पुन सोरठी गाउन पुग्ने गर्नुभएको छ ।

दसैँ–तिहार, नयाँ वर्षलगायतको अवसरमा गाउँमा नियमित रुपमा पुख्र्यौली नाच देखाउँदै आएका यहाँका स्थानीयवासीले बच्चा जन्मिएपछि नाम राख्ने दिन, भात खुवाउने, छेवर र न्वारन तथा विवाहमासमेत पुख्यौली नाच देखाउँदै आएका अग्रज कलाकार लक्षु पुनले बताउनुभयो ।

“सुरुमा नाच देखाउनुअघि सोरठी भाकामा सरस्वती जगाउने गरिन्छ । मादलको तालमा सोरठीको भाकाको कम्पनले कतिपय काम्ने गर्छन् । सरस्वती जागेर कामेकालाई मादलकै तालले फेरि सामान्य अवस्थामा फर्काउने गर्छौँ”, उहाँले भन्नुभयो । पुनका अनुसार सोरठी भाकामा देविदेवताका कथादेखि मायाप्रेम र सदभावका टुक्का गीतमार्फत गाउने गरिन्छ ।

बाह्य संस्कृतिको प्रभावले मौलिक संस्कृति हराएर जाने जोखिम बढेपछि भकिम्लीमा वृद्धवृद्धासमेत पुख्र्यौली संस्कृति जगेर्ना गर्न लागिपरेका ७८ वर्षीय कुविर थापामगरले बताउनुभयो । युवायुवतीले पुख्र्यौली नाच र सोरठी गाउन सिके पनि उनीहरु विदेश पलायन हुने भएकाले ज्येष्ठ नागरिक नै संस्कृति जगेर्नामा लागेको उहाँको भनाइ थियो ।

“हामीले सानै उमेरदेखि रहर नै रहरमा नाच्न र गाउन सिकेका हौँ । अहिले नयाँ पुस्तालाई जोडबल गरेर संस्कृतिको पुस्ता हस्तान्तरण गर्नुपर्ने अवस्था आएको छ”, मगरले भन्नुभयो, “नयाँलाई सिकाउँछौँ तर सिकेका युवायुवती विदेश पलायन हुने भएकाले संस्कृति हस्तान्तरणमा चुनौती थपिएको छ ।”

भकिम्लीका ६५ वर्षीय जीतबहादुर थापाले पनि गाउँमा पुख्र्यौली नाच देखाउँदा मादलेको भूमिकामा आफूलाई निरन्तर सहभागी गराउँदै आउनुभएको छ । आफ्नो बुबा र बाजेहरुको अनुशरण गर्दै आफूले पनि मौलिक संस्कृतिको रुपमा रहेको पुख्र्यौली नाचलाई निरन्तरता दिएको उहाँको भनाइ थियो ।

पुख्र्यौली नाचमा मादलेको भूमिकामा पुरुष नै हुन्छन् भने पुरुष नै महिलाको वेषमा सजिएर मारुनी बन्ने गर्छन् । महिलाले सोरठी भाका गाउने र पुरुष मादले र मारुनी बनेर नाच देखाउने प्रचलन छ । पुरुष कोहीकाहीँ महिलाले लगाउने चोली, गुन्यू, पटुका, घल्याङ, पछ््यौरा, माला, हातमा रैयाले सिँगारिएर मारुनी बन्छन् भने सोही अनुपातमा शिरमा फेटा÷टोपी, भोटो, खादी, भाङ्ग्रा पहिरिएर कम्मरमा मादल भिरेर मादले बनेकाले मादले मारुनी नाच देखाउँछन् ।

पुख्र्यौली नाचलाई पुस्तान्तरण गर्नका लागि हरेक पुख्र्यौली समूहलाई मादले मारुनी नाचमा युवापुस्तालाई सहभागी गराउन अनुरोध गरिएको बेनी–३ का वडाध्यक्ष पदमबहादुर पुनले बताउनुभयो । गाउँमा आयोजना हुने विभिन्न सार्वजनिक कार्यक्रम, विवाह, क्षवर र छैटौँका साथै धार्मिक पर्वमा सोरठी भाकासहित मादले र मारुनी नाच देखाउने प्रचलन रहेको उहाँको भनाइ थियो ।

प्रवासबाट आउने लाहुरे, भ्रमणमा आउने पर्यटक र अतिथिको स्वागतमा पुख्र्यौली नाच प्राथमिकतामा पर्ने गरेको स्थानीय ७४ वर्षीय मनबहादुर पुनले बताउनुभयो । उहाँका अनुसार तिहारको अवसरमा खेलिने देउसी भैलोमासमेत पुख्र्यौलीलाई समावेश गर्ने गरिन्छ । सात वर्षको उमेरदेखि नै पुख्र्यौली नाच्न थालेको भन्दै यसमा आफू सहभागी हुन पाउँदा गौरवको महसुस हुने गरेको उहाँको भनाइ थियो ।

“केही वर्ष अघिसम्म यो नाच हराउछ कि भन्ने डर थियो । हिजोआज युवायुवती पनि यो नाच नाच्न तयार भएका छन्”, पुनले भन्नुभयो, “संस्कृति सिक्न नयाँ पुस्ता अग्रसर भएकाले पनि संस्कृति हस्तान्तरण हुनेमा विश्वस्त बनेका छौँ ।” मादलको तालमा गीत गाउँदा मादले मारुनी मात्रै नभएर अरु पनि नाच्ने गर्छन् । उहाँका अनुसार पुख्र्यौली नाच देखाउने हरेक समूहमा नाच देखाउने मादले मारुनीसहित सोरठी गाउने कलाकारसहित १५ जनाभन्दा बढी कलाकार सहभागी हुने गर्छन् ।

सोरठी भाकाको गीत र मादले मारुनी नाच सात दिन र रातिसम्म पनि नसकिने भएकाले समय, अवस्था र परिस्थिति हेरर यो नाच देखाउने गरिन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij