• Saturday 12th of September 2026

हलेसीमा हिन्दु र किराँत संस्कारमा आधारित होमस्टे


  • आशाका किरण

हिन्दु, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल खोटाङको हलेसीमा तीनवटा होमस्टे (घरबास) सञ्चालन गर्ने तयारी गरिएको छ । नेपाल सरकारद्वारा गठित हलेसी विकास समितिको पहलमा स्वदेश तथा विदेशबाट हलेसी घुम्न आउने पर्यटकलाई लक्षित गर्दै हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा तीनवटा होमस्टे सञ्चालन गर्ने तयारी गरिएको हो । महादेविस्थानस्थित तल्लो माल्खुमा किराँत र माथिल्लो माल्खुमा हिन्दु तथा ऐसेलुखर्कमा किराँत संस्कारमा आधारित होमस्टे सञ्चालन गर्ने तयारी गरिएको हलेसी विकास समितिका अध्यक्ष एवम् सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का आमन्त्रित स्थायी समिति सदस्य टङ्क राईले बताउनुभयो ।

“तीनवटै ठाउँमा छुट्टाछुट्टै समिति गठन गरेर होमस्टे सञ्चालन सम्बन्धी तालीम दिनुका साथै आवश्यक पूर्वाधार निर्माणको कामलाई तीव्रता दिइएको छ”, पूर्व सांसदसमेत रहनुभएका समितिका अध्यक्ष राईले भन्नुभयो, “होमस्टे व्यवसायले स्थानीय उत्पादनको प्रवद्र्धनका साथै स्थानीय बासिन्दालाई आत्मनिर्भरको बाटोमा डोहो¥याउने अपेक्षा गरिएको छ ।” माथिल्लो माल्खुमा यसअघि नै व्यावसायिकरुपमा गाई, स्थानीय जातका कुखुरा, टर्की, परेवा लगायत पशुपंछी पालन तथा तरकारी खेती गर्दै आउनुभएका सुवीन्द्र गिरीको अध्यक्षतमा समिति गठन गरेर आवश्यक संरचना निर्माणको काम भइरहेको छ ।

त्रिधार्मिकस्थल हलेसीबाट ककनी मन्दिर जाने बाटोमा पर्ने २२ घर क्षेत्री÷बाहुन समुदायको बस्ती रहेको माथिल्लो माल्खुमा हिन्दु संस्कारअनुसार बालन, संगीनी, चुट्कालगायत नाच सिक्ने÷सिकाउने अभ्याससमेत भइरहेको अध्यक्ष राईले बताउनुभयो । नगरपालिका र वडा कार्यालयसँग पनि सहकार्य गरेर सञ्चालन गर्नेगरी शुरु गरिएको माथिल्लो माल्खुको होमस्टेको नाम ‘हलेसी सामुदायिक होमस्टे माल्खु’ राखिएको छ । महादेवस्थानकै तल्लो माल्खुका १४ र ऐसेलुखर्कका ४२ घर किराँत समुदाय समेटेर होमस्टे सञ्चालक समिति गठन गरिएको हलेसी विकास समितिका कार्यकारी निर्देशक सम्मरबहादुर भुजेलले जानकारी दिनुभयो । ऐसेलुखर्कमा कोपिला राई तथा तल्लो माल्खुमा एवीन्द्र राईको अध्यक्षतामा होमस्टे सञ्चालक समिति गठन गरिएको छ ।

हलेसी विकास समितिको पहलमा होमस्टे सञ्चालन हुने भएपछि उक्त कार्यप्रति स्थानीय बासिन्दासमेत हौसिएका छन् । दर्शनार्थी एवम् पर्यटकको दैनिक भीड लाग्ने हलेसीमा हालसम्म होमस्टेको विकास हुन सकेको थिएन । हिन्दु तथा किराँत संस्कारमा आधारित होमस्टेमा हलेसी बजारस्थित होटल तथा लजमा बस्ने पाहुनालाई समेत साँस्कृतिक कार्यक्रम हेर्न टिकट लिएर प्रवेश गर्न दिने व्यवस्था गरिने जनाइएको छ । किराँत संस्कारमा आधारित होमस्टेमा साकेला नाच हेर्ने तथा नाच्ने र लोकदोहोरी गाउने व्यवस्था मिलाइने सञ्चालक समितिले जनाएको छ । किराँत समुदायको बाहुल्यता रहेको हलेसीमा विभिन्न जातजातिका समुदाय आउने भएकाले पनि हिन्दु र किराँत संस्कारमा आधारित छुट्टाछुट्टै होमस्टे सञ्चालन गर्ने तयारी गरिएको हो ।

हलेसी आउने पर्यटक तथा दर्शनार्थीका लागि घुमफिर गर्ने ठाउँ नभएकाले पनि होमस्टेको अवधारण लिइएको विकास समितिका अध्यक्ष राईले बताउनुभयो । “हलेसीमा अहिलेसम्म बाहिरबाट आउने पर्यटकका लागि मनोरञ्जन गर्ने ठाउँ छैन”, उहाँले भन्नुभयो, “अहिले अधिकांश मानिस खुला रुपमा मनोरञ्जन गर्न चाहन्छन् । मनोरञ्जन गर्न चाहने व्यक्ति तथा पर्यटकका लागि केहि हलेसी क्षेत्रमै अडिने व्यवस्था मिलाउन होमस्टे सञ्चालन गर्ने तयारी गरिएको हो ।” हलेसीमा नेपालका सबै जिल्लाका साथै अन्य देशहरु भारत, चीन, भुटान, बंगलादेश, जापान, अमेरिका, थाईल्याण्डलगायत भक्तजन एवम् दर्शनार्थी आउने गरेका छन् ।

धार्मिक रुपले मात्र नभई प्राकृतिक रुपमै विश्व प्रसिद्ध हलेसीमा चैत महिनामा रामनवमी मेला १५ दिन, मङ्सिरमा बालाचतुर्दशी मेला १२ दिन, फागुनमा शिवरात्री मेला सात दिन र भदौमा तीज मेला तीन दिन लाग्ने गरेको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेविस्थानमा पर्ने त्रिधार्मिकस्थल हलेसीमा ठुलो चट्टानको बीच भागमा रहेको गुफाभित्र बिराजमान शिवलिङ्ग र पार्वतीको मन्दिर छ । हलेसीलाई त्रिधार्मिकस्थालका रुपमा विकास गर्न सरकारले विसं २०५३ देखि हलेसी विकास समितिमार्फत विकास योजना अघि बढाएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij