• Saturday 12th of September 2026

बेँसीशहर–चामे सडकलाई ‘राष्ट्रकवि मार्ग’ नामकरण गर्न माग


  • आशाका किरण

गण्डकी प्रदेशअन्तर्गत लमजुङ–मनाङ जिल्ला जोड्ने ६५ किलोमिटरको बेँसीशहर–चामे सडकको नाम ‘राष्ट्रकवि मार्ग’ राख्न एक कार्यक्रमका सहभागीले माग गरेका छन् । मस्र्याङ्दी गाउँपालिका–६ पुस्तुनमा पुस्तुन बाहुनडाँडा घिमिरे समाजद्वारा आज राष्ट्रकवि माधवप्रसाद घिमिरेको १३ औंँ दिनका पुण्यतिथिमा आयोजित श्रद्धाञ्जलि कार्यक्रममा सो माग गरिएको हो । पुस्तुनमा जन्मी राष्ट्रिय–अन्तरराष्ट्रिय क्षेत्रमा चर्चित घिमिरेका नामबाट बेँसीशहर–चामे सडकको नाम राख्न सकेमा उहाँको योगदान र जन्मथलोप्रति सम्मान जनाइएको छ ।

पुस्तुन बाहुँनडाँडा–घिमिरे समाजका अध्यक्ष प्रेमनाथ घिमिरे, सोही गाउँपािलका वडा नम्बर ६ का वडाध्यक्ष लीलाप्रसाद घले, घिमिरे समाजका संस्थापक अध्यक्ष भक्तबहादुर घिमिरे, राष्ट्रकवि माधवप्रसाद घिमिरे उद्यान निर्माण समितिका अध्यक्ष चन्द्रकान्त घिमिरे, बाघेता युनाइटेड क्लबका अध्यक्ष विष्णु गुरुङलगायत समाजसेवी, जनप्रतिनिधि, स्थानीयवासीलगायतले सो माग गर्नुभएको हो । मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले मनाङ तथा लमजुङका जनप्रतिनिधि र सरोकार निकायसँंग सल्लाह र समन्वय गरी सोका लागि पहल गरिने बताउनुभयो । कार्यक्रममा राष्ट्रकविको तस्वीरमा सहभागीले फूल, अबीर र माला अर्पण गरी श्रद्धाञ्जलि व्यक्त गरेका थिए । विक्रम संवत् १९७६ असोज ७ गते हालको मस्र्याङ्दी गाउँपालिका बाहुनडाँडास्थित पुस्तुनमा जन्मनुभएका उहाँको यही भदौ २ गते काठमाडौँ लैनचौरस्थित आफ्नै निवासमा १०१ वर्षका उमेरमा निधन भएको थियो ।

उहाँका नवमञ्जरी, गौरी (शोककाव्य), मालती मङ्गले,(गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक, साझा पुरस्कार २०५४), राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नरकिन्नरी (गीतसङ्ग्रह), चारु चर्चा (निबन्ध, साझा पुरस्कार २०५८), आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) लगायत कृति प्रकाशित छन् । घिमिरेले २०६७ सालमा पद्मश्री साधना सम्मानसमेत प्राप्त गर्नुभएको थियो । घिमिरेलाई विसं २०६० मा ८५ वर्षका उमेरमा राष्ट्रकविको उपाधि दिइएको थियो । उहाँलाई २०७४ सालमा नेपाली सेनाको मानार्थ सहायक रथीको पदवीसमेत प्रदान गरिएको थियो । उहाँका ‘गाउँछ गीत नेपाली…’, ‘नेपाली हामी रहौँला कहाँ नेपालै नरहे…’ साथै तारादेवीले गाएको’ मनको बाँध’ चलचित्रको’ फूलको थुँगा बगेर गयो’ तथा नारायणगोपालले गाएको ‘आजै र राति के देखेँ सपना’जस्ता गीत चर्चित छन् ।(साथमा तस्विर पनि उपलब्ध छ) ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij