• Saturday 12th of September 2026

देशकै उत्कृष्ट बन्यो त्रिफला पुस्तकालय


  • आशाका किरण

अन्न त्यागेर फलाहारी भएका खाली खुट्टा हिँड्ने एक सन्तले स्थापना गरेको झापाको त्रिफला राष्ट्रिय पुस्तकालय देशकै उत्कृष्ट भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले १३ औँ पुस्तकालय दिवसको अवसरमा आज त्रिफला पुस्तकालयलाई मुलुककै वर्ष उत्कृष्ट घोषित गर्दै सम्मानित गर्ने निर्णय गरेको छ । मन्त्रालयका उपसचिव यादवचन्द्र निरौलाले नेपालमा मात्र नभई पूर्वोत्तर भारतमा समेत नेपाली भाषा, साहित्य तथा पुस्तकालय सेवामा त्रिफला राष्ट्रिय पुस्तकालयले पुर्याउँदै आएको विशिष्ट योगदानको कदरस्वरूप यस वर्षको उत्कृष्ट सम्मान प्रदान गरिएको बताउनुभयो । मन्त्रालयले हरेक वर्ष एउटा पुस्तकालयलाई उत्कृष्ट सम्मान प्रदान गर्दै आएको छ ।

यसवर्ष कोभिड–१९ को विषम परिस्थितिका कारण सहज अवस्था भएपछि समारोहको आयोजना गरी सम्मान पत्र हस्तान्तरण गरिने निरौलाले जानकारी दिनुभयो । मेचीनगर–१० धुलाबारीमा पुस्तकालयको तीन तले पक्की भवन छ । पुस्तकालयमा हजारौँ पुराना र नयाँ पुस्तकहरु छन् । ई–लाइबे्ररीको पनि सुविधा छ । विसं २०५३ सालमा स्थानीय प्रेमप्रकाश पोखरेल (फलाहारी)ले यो पुस्तकालयको स्थापना गर्नुभएको हो । उहाँले तीन दशकदेखि नुन, अन्न र चप्पल–जुत्ता परित्याग गर्नुभएको छ । गेरु वस्त्र धारण गर्ने उहाँले लागूपदार्थको दुव्र्यसनविरुद्ध जनचेतना फैलाउन र धार्मिक स्थलहरुको प्रचार गर्न मुलुकका सबै जिल्लाको खाली खुट्टा पैदल यात्रा गर्नुभएको छ ।

पुर्खाले आर्जेको ज्ञान पुस्तकमा हुने र त्यसको अध्ययन र पठनमा आम मानिसलाई प्रोत्साहित गर्न पुस्तकालय खोल्ने सोचअन्तर्गत त्रिफलाको स्थापना गरेको फलाहारीले बताउनुभयो । उहाँले जीवनका उर्वर उमेर र आफ्नो सारा श्रम पुस्तकालयको स्थापना, पुस्तक सङ्कलन र भवन निर्माणका लागि सहयोग जुटाउन खर्चिनुभयो । उहाँकै अध्यक्षतामा गठित सञ्चालक समितिले स्थापनाकालदेखि पुस्तकालयको नेतृत्व गर्दै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij