• Saturday 12th of September 2026

६८ फर्मको जरिवाना रु ४० लाख


  • आशाका किरण

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनबाट रु चालिस लाख राजश्व संकलन गरेको छ । विभागले यही भदौ १ देखि १५ गतेसम्म बजार अनुगमनका क्रममा अनैतिक क्रियाकलाप गर्ने पसललाई कारावाहीस्वरुप जरिवाना गर्दा १५ दिनका अवधिमा रु ४० लाख ३५ हजार राजश्व सङ्कलन गरेको हो । विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार सो अवधिमा ६८ फर्मलाई कारवाही गर्दा उक्त रकम सङ्कलन भएको हो । उहाँका अनुसार सो अवधिमा २७३ फर्म अनुगमन गरिएकामा १४ फर्म सामान्य अवस्थाका र १५६ फर्ममा सामान्य कैफियत देखिएर तत्काल सुधार गर्न निर्देशन दिइएको छ । यसैगरी नौ फर्मबाट परीक्षणका लागि वस्तुको नमूना सङ्कलन लिइएको, २३ फर्मलाई स्पष्टीकरण सोधिएको, १६ फर्मको कारोवार रोक्का तथा सिलबन्दी गरिएको थियो भने रु १५ हजार ३५७ बराबरका म्याद सकिएका सामग्री नष्ट गरिएको उहाँले जानकारी दिनुभयो ।

विभागको तथ्याङ्कानुसार अनुचित व्यापारिक क्रियाकलाप गर्ने अनलाइन पसलबाट रु तीन लाख, औषधि पसलबाट रु तीन लाख ९५ हजार, खाद्य तथा किराना पसलबाट रु पाँच लाख ८० हजार, गार्मेन्टबाट रु ५० हजार राजश्व सङ्कलन भएको छ । यसैगरी डिपार्टमेन्टल स्टोरबाट रु दुई लाख ६० हजार, तरकारी पसलबाट रु १० हजार, निर्माण सामग्रीबाट रु ५० हजार र पानी उद्योगबाट रु नौ लाख राजश्व संकलन भएको छ । पार्टी प्यालेसबाट रु तीन लाख, फलफूल पसलबाट रु ५५ हजार, मार्टबाट रु ७० हजार, मासु पसलबाट रु तीन लाख, मास्क उत्पादनबाट रु एक लाख ५० हजार, औषधि पसलबाट रु ५५ हजार र सर्जिकलबाट रु ५० हजार जरिवाना उठाइएको थियो । उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम अनुचित व्यापारिक कारोवार गर्ने पसललाई जरिवाना गरिएको विभागले जनाएको छ । काठमाडौँ उपत्यकामा गरिएको निषेधाज्ञा र चाडपर्व नजिकिँदै गर्दा कालोबजारीमा वृद्धि हुने भएकाले विभागका दैनिक ६ टोलीले बजार अनुगमन गर्दै आएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij