• Saturday 25th of July 2026

बुधबार साँझ ६ बजे लागेको आगलागीबाट रु ६० लाख बराबरको क्षति


  • आशाका किरण

हुम्लाको सर्केघाड गाउँपालिका–७ रोडिकोटको ठूलो गाउँमा आगलागी हुँदा ५९ लाख ५५ हजार ६० रुपैयाँ मूल्य बराबरको क्षति भएको छ । बुधबार साँझ ६ बजे स्थानीयवासी जोखे जैसीको घरबाट सल्किएको आगोले आसपासका छ वटा घर पूर्ण रुपमा र नौ वटा घर आंशिक रुपमा जलेर नष्ट हुँदा उक्त मूल्य बराबरको क्षति भएको सर्केघाड गाउँपालिका–७ का वडाध्यक्ष कृष्णप्रसाद जैशीले बताउनुभयो । उहाँका अनुसार सर्केघाडस्थित सर्किदेउ प्रहरी चौकीबाट खटिएको प्रहरीको टोली र स्थानीय जनप्रतिनिधिको संयुक्त टोलीले आगलागीबाट भएको क्षति विवरण सङ्कलन गरेको थिए ।

आगलागीबाट हरीभक्त जैसी, मथान जैसी, अनिलाल जैसी, देवीसिङ जैसी र रुपकला जैसीको घर पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ । स्थानीयवासीको सहयोगमा सुरक्षाकर्मीले आज बिहान साढे २ बजे आगलागी नियन्त्रणमा लिएको थियो । क्षतिको विवरण केन्द्रमा पठाइयो जिल्ला दैवीप्रकोप उद्धार समितिले रोडिकोट आगलागीमा भएको क्षतिको विवरण प्रदेश र सङ्घीय सरकारलाई पठाएको छ । सर्किदेउ प्रहरी चौकी र स्थानीय जनप्रतिनिधिको संयुक्त टोली स्थलगत रुपमा सङ्कलन गरिएको क्षतिको विवरण गृह मन्त्रालयमा पठाइएको प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरीले जानकारी दिनुभयो ।

“स्थलगत रुपमा प्रहरीले तयार पारेको विवरण आउने बित्तिकै जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको बैठक बसेर जानकारीसहितको पत्र केन्द्रमा पठाएको छु”, उहाँले भन्नुभयो, “आगलागी पीडितका लागि तत्काल आवश्यक पर्ने राहतको व्यवस्थापन गर्न तीन वटै तहका सरकारलाई अनुरोधसमेत गरेको छु ।” राहतसहितको टोली पठाउने तयारी आगलागीबाट घरबारविहीन भएर छाक टार्न समस्या भएका पीडितलाई राहत सामग्री लिएर प्रदेश सरकारको टोली घटनास्थलमा जाने तयारी गरेको बताइएको छ ।

आगलागी भएको खबर पाउने बित्तिकै प्रदेश सरकारले पीडित परिवारका लागि आवश्यक पर्ने राहत सामग्री लिएर एउटा टोलीलाई घटनास्थलतर्फ पठाउन लागेको कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जानकारी दिनुभयो । “पीडितलाई तत्काल कम्तीमा तीन महिनाको खाद्यान्न सामग्रीसहित राहत प्रदान गरिनेछ”, कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले भन्नुभयो, “नेपाली सेनाको हेलिकोप्टर पठाउने बारेमा गृह मन्त्रालयसँग समन्वय भइरहेको छ, सम्भव भए आजै एउटा टोली राहत सामग्री लिएर घटनास्थलतर्फ प्रस्थान गर्नेछ ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij