• Saturday 12th of September 2026

वाग्मतीमा अस्पताल निर्माण अन्तिम चरणमा


  • आशाका किरण

दक्षिण ललितपुरको वाग्मती गाउँपालिका–४ प्युटारस्थित थाङसिनटारमा गाउँपालिकास्तरीय अस्पताल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयको सःशर्त अनुदानमा ‘एक पालिका एक अस्पताल’ को अवधारणाअनुरूप उक्त अस्पताल निर्माणको कार्य अघि बढेको हो । गाउँपालिकाका सबै नागरिकलाई स्वास्थ्य सेवाको पहुँच पुर्याउने उद्देश्यले गत वर्ष २०७६ भदौ २० गते १५ शय्याको अस्पताल बनाउने योजनानुसार गत जेठ २० गते सम्पन्न हुनुपर्ने गरी काम अघि बढाएको ललितपुर क्षेत्र नं १ ख का प्रदेशसभा सदस्य चेतनाथ सञ्जेलले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेशले कुल रु तीन करोड ६० लाख बजेट विनियोजन गरेको थियो ।

यसमा रु दुई करोड तीन लाख २२ हजार ९२२ मा सम्झौता भएर काम अघि बढेको थियो ।” ज्ञानज्योति बिल्डर्स प्रालि नामक ठेकेदार कम्पनीले सो अस्पताल निर्माणको काम गरिरहेको सञ्जेलले जानकारी दिनुभयो । प्रदेश सरकारले वाग्मतीमा १५ शय्याको अस्पताल बनाउने उद्देश्यका साथ बजेट विनियोजन गरे पनि पाँच शय्याको मात्र भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले बताउनुभयो । उहाँले भन्नुभयो, “भौगोलिक विकटता र कम जनसङ्ख्याको आधारमा हामीले यति शय्याको अस्पताल तयार गरेका छाँै ।

बाँकी १० शय्याका लागि बिस्तारै काम अघि बढाइनेछ ।” विश्वव्यापी रूपमा फैलिरहेको कोभिड महामारीका कारण समयमै गर्नुपर्ने अस्पताल निर्माणको काममा ढिलाइ भएकाले आउँदो असोज १० गतेभित्रमा ठेकेदार कम्पनीले सम्पन्न गरी बुझाउने प्रतिबद्धता जनाएको लोप्चनले जानकारी गराउनुभयो । करिब १२ रोपनी क्षेत्रफलमा दुई तलाको अस्पताल बन्नेछ । गाउँमा अस्पताल बन्ने कुरा भएपछि समाजसेवी प्रेम गोले र चतुरमान गोलेले तीन रोपनी नौ आना जग्गा दान गर्नुभएको थियो । यसमा बाँकी करिब नौ रोपनी सार्वजनिक जग्गा रहेको लोप्चनको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij