• Saturday 12th of September 2026

सिन्धुलीगढी युद्धमा प्रयोग भएको भाले खुँडा भेटियो


  • आशाका किरण

सिन्धुलीगढी युद्धकालीन समयमा प्रयोग भएको भाले खुँडा भेटिएको छ । युद्धकालीन समयमको उक्त भाले खुँडा सिन्धुलीगढीमा बन्दै गरेको युद्ध सङ्ग्रहालयलाई उपलब्ध गराइएको छ । विसं १८२४ मा सिन्धुलीगढीमा गोर्खाली र इष्ट इण्डिया कम्पनी आबद्ध अङ्ग्रेज सेनाबीच भएको निर्णायक युद्धमा वंशुधर थापा मगरले प्रयोग गरेको भाले खुँडा साविक भद्रकाली गाविसका पूर्व अध्यक्ष तथा योद्धा वंशुधरका सन्तान हरिबहादुर थापाले युद्ध सङ्ग्रहालयलाई हस्तान्तरण गर्नुभएको कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले जानकारी दिनुभयो ।

“हरिबहादुरले हामीलाई घरमै बोलाएर म र वर्दबहादुर गणका गणपति विजय थापामार्फत उहाँले युद्ध सङ्ग्रहालयलाई भाले खुँडा हस्तान्तरण गर्नुभयो”, उहाँले भन्नुभयो । नेपालले अङ्ग्रेजमाथि विजय प्राप्त प्राप्त गरेको स्थलमा बन्न लागेको युद्ध सङ्ग्रहालयमा राख्नका निमित्त उहाँले हस्तान्तरण गर्नुभएको नगरप्रमुख खत्रीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “युद्धकालीन समयमा प्रयोग भएका ऐतिहासिक घरेलु हतियारको खोजी हामीले गरिरहेका छौँ ।” उहाँले आफ्ना पुर्खाले लडाइँमा लड्दा प्रयोग गरेका पुराना हतियार भए सङ्ग्रहालयमा हस्तान्तरण गर्न नगरपालिकामा बसोबास गर्ने नगरबासीमा आग्रह गर्नुभयो ।

कमलामाई–३ मा रहेको ऐतिहासिक महत्वको सिन्धुलीगढीमा युद्ध सङ्ग्रहालयको निर्माणसँगै तत्कालीन युद्धमा प्रयोग भएका घरेलु हतियार तथा ऐतिहासिक सामग्रीको खोजी थालिएको हो । रतनचुराको खनियाँखर्कका स्थानीयवासीले पगरी, गैँडे ढाल, पोथी तरबार दिने भएको बताइएको छ । साविकको जलकन्या गाउँ विकास समितिमा पनि त्यस्ता सामग्री हुन सक्ने भन्दै खोजी गर्न थालिएको छ । ऐतिहासिक सामग्री उपलब्ध गराउनेलाई नगरपालिकाले उचित सम्मान गर्ने नगरप्रमुख खत्रीले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij