• Saturday 12th of September 2026

शिशुवा अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरिने


  • आशाका किरण

पोखरा महानगरपालिकाको स्वामित्वमा रहेको लेखनाथस्थित शिशुवा अस्पतालको स्तरोन्नति गरिने भएको छ । हाल १५ शय्या रहेको सो अस्पतालको स्तरोन्नति गरी ५० शय्यामा विस्तार गरिने महानगरले जनाएको छ । पहिलोपटक अस्पतालमा शल्यक्रियामार्फत प्रसूति सेवा शुरु भएपछि सोमबार अस्पताल निरीक्षण तथा शल्यक्रियामार्फत सुत्केरी हुनुभएकी रीता श्रेष्ठलाई पोषण सामग्री हस्तान्तरण गर्दै महानगर प्रमुख मानबहादुर जिसीले अस्पतालको स्तरोन्नति गरिने योजना रहेको बताउनुभएको हो । साविक लेखनाथ नगरपालिकाको जमिनमा निर्माण हुने विशिष्टीकृत बाल अस्पतालसँगै अस्पतालको स्तरोन्नति गरिने उहाँले स्पष्ट पार्नुभयो ।

गत शनिबार अस्पतालमा बाराको कोहल्बी नगरपालिका–८ नयाँबस्तीका १८ वर्षीया श्रेष्ठको शल्यक्रिया गरी प्रसूति गराइएको थियो । अस्पतालले न्यून जनशक्तिका बीच शल्यक्रियामार्फत प्रसूति सेवा शुरु गरेकाले थप जनशक्तिका लागि महानगरले सहयोग गर्नुपर्ने अस्पतालले जनाएको छ । मातृ तथा शिशुसँग जोडिएका चिकित्सक, जाँच र ल्याबको सुविधा थप गर्न माग गरिएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रतिभा कोइरालाले सबैको सहयोगबाट अस्पतालमा पहिलोपटक शल्यक्रियामार्फत प्रसूति सेवा उपलब्ध गराउन सकिएको भन्दै न्यून स्रोत र साधन चुनौतीका रूपमा रहेको बताउनुभयो ।

महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले अस्पतालमा प्रसूति सेवा शुरु भएपछि लेखनाथ र आसपासका बासिन्दा पोखरासम्म धाउनुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो । आपतकालीन अवस्थामा ४५ मिनेट लगाएर पोखरा आउँदा आमा र बच्चाको स्वास्थ्य जोखिम हुने गरेको उल्लेख गर्दै उहाँले सुुरक्षित प्रसूति सेवा शिशुवामै पाइन्छ भन्ने विश्वास नागरिकलाई दिनुपर्ने खाँचो औँल्याउनुभयो ।

महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले विशेषज्ञ चिकित्सक सेवासहित विभिन्न परीक्षण, ल्याबलगायतका सेवा र सुविधा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा नारायण ओझाले अस्पतालको सेवाबाट लेखनाथका मात्रै नभई मादी र रुपा गाउँपालिकासहित कास्कीको पूर्वीभेगसँग सीमा जोडिएका लमजुङका बासिन्दासमेत लाभान्वित हुने गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij