• Saturday 12th of September 2026

पहिराका कारण घर भत्किँदा २० वर्षीया किशोरीको मृत्यु


  • आशाका किरण

अविरल वर्षासँगैको पहिराका कारण घर भत्किँदा जिल्लाको रुपा गाउँपालिकामा आज एक किशोरीको मृत्यु भएको छ । रुपा गाउँपालिका–६ बराहथोकका काजीबहादुर विकको घरमाथिबाट बिहान अन्दाजी ४ः२५ बजेको समयमा आएको पहिराले ढुङ्गा माटोले बनेको घर पुरिँदा विकका २० वर्षीया छोरी सिर्जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।

घरभन्दा अन्दाजी ५० मिटर माथिबाट आएको पहिराले घर पुरेको थियो । परिवारका अन्य सदस्य भने भाग्न सफल भएकाले सुरक्षित रहेको प्रहरीले जनाएको छ । प्रहरी चौकी भिरचोक तथा इलाका प्रहरी कार्यालय शिशुवाबाट गएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा शव बाहिर निकालिएको थियो । शव परीक्षणका लागि अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइँदै छ । पहिराले स्थानीय हरिराम विक, चूडामणि सुनार र माया विकको घर जोखिममा रहेकाले उनीहरुलाई अन्यत्र व्यवस्थापनको तयारी गरिएको गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij