• Saturday 25th of July 2026

घुम्थाङमा पहिरो : मृतक नौजनाको सनाखत, २२ जना अझै बेपत्ता


  • आशाका किरण

बाह्रबिसे–७ घुम्थाङमा पहिरा जाँदा पुरिएका नौ जनाको शव भेटिएको छ । इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानले मृतक सबैको सनाखत भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिरामा ज्यान गुमाउनेमा नागपुजे गाउँका ६३ वर्षीया भक्तिमाया श्रेष्ठ, ९८ वर्षीय ट्याक्से शेर्पा, ४२ वर्षीया ज्ञानीमाया प्रधान, भिरखर्क बिक टोलका २३ वर्षीय जुनु बिक, २४ वर्षीय सुकुलाल बिक, आठ वर्षीय सन्देश बिक तथा नेवार टोलका ६० वर्षीया सर्किनी नेवार, ६५ वर्षीय धनलाल नेवार र ४२ वर्षीया हीरामाया श्रेष्ठ रहेका छन् । क्षतिको विवरण सङ्कलन भइरहेको छ । पहिरामा २२ जना अझै बेपत्ता छन् । भिरखर्क पहिरामा बेपत्तामध्ये पाँच जनाको जीवित नै उद्धार गरिएको छ । पुरिएको अवस्थामा फेला परेका उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।

पहिरो प्रभावितलाई तत्काल सहयोग हुन्छ : सभामुख सापकोटा

चौतारा : सभामुख अग्निप्रसाद सापकोटा आज बाह्रबिसे नगरपालिका–७ घुमथाङको भीमखर्कमा र नाकबुच्चेमा गएको पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी पहिरो प्रभावितलाई तत्काल सहयोग हुने जानकारी दिनुभयो ।उहाँले भौगोलिक अध्ययन गराएर यहाँको बस्ती सार्नु पर्ने÷नपर्ने विषयमा राष्ट्रियस्तरमै पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । “पीडित परिवारका लागि तत्काल राहतको व्यवस्था हुन्छ नै”, सभामुख सापकोटाले भन्नुभयो ।

गए राति गएको पहिराले ११ घर क्षति भई नौ जनाको मृत्यु भएको छ भने २२ जना बेपत्ता भएका छन् । तीनजना घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो । यसैगरी आज बिहान गएको पहिराले जुगल गाउँपालिका–४ चनौटेमा तीन घर पूर्ण रुपमा क्षति भई स्थानीय विमला पौडेल घाइते हुनुभएको छ । त्यस्तै वडा नं १ सेलाङको देउरालीमा पहिराले सात घरका परिवार विस्थापित भएको गाउँपालिकाकी उपाध्यक्ष सिर्जना तामाङले जानकारी दिनुभयो ।

आ–आफ्नो ठाउँबाट लागौँ : मन्त्री दुलाल

वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले प्राकृतिक विपत्तिको सामना गर्नुको विकल्प नरहेको बताउनुभएको छ । उहाँले जिल्लाको बाह्रबिसे नगरपालिका–७, घुम्थाङ नागपुजेमा आएको पहिराबाट भएको क्षतिले आफू अत्यन्त दुःखित भएको सामाजिक सञ्जालमार्फत जनाउनुभएको छ ।

यो पनि हेर्नुहोस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij