• Friday 24th of July 2026

रकम भुक्तानीका लागि धाउँदाधाउँदै मृत्यु


  • आशाका किरण

वैराती बजार टहरा निर्माण समितिका अध्यक्ष धनवीर राजवंशीको मृत्यु भएपछि उनको परिवारलाई गौरादह नगरपालिकाले पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिएको छ । नगरपालिकामा पर्ने वैराती बजार टहरा निर्माणको काम सम्पन्न गरेर रकम भुक्तानीका लागि पटकपटक नगरपालिका धाए पनि नगरपालिकाले समयमा रकम भुक्तानी नदिँदा अध्यक्ष राजवंशी नगरपालिकाको मूल गेटमै गत असोज १२ गते बेहोस भएर ढलेका थिए । रकम भुक्तानीका लागि नगरपालिका पुगेका राजवंशी नगरपालिकामा नै बेहोस भएर ढलेपछि उपचारका लागि अस्पताल लाने क्रममा उनको बाटैमा मृत्यु भएको थियो । अध्यक्ष राजवंशीको मृत्यु भएपछि मृतकका आफन्त र वैराती बजार टहरा निर्माण समितिका पदाधिकारीले नगरपालिकाले समयमा रकम भुक्तानी नदिएका कारण उनको मृत्यु भएको भन्दै नगरपालिकामा तोडफोड गरेका थिए ।

नगरपालिका–८ भुडिसिमल निवासी ५८ वर्षीय राजवंशीको अध्यक्षतामा गठित उपभोक्ता समितिले टहरा निर्माण गरेको थियो । टहरा निर्माणका लागि नगरपालिकाले रु तीन लाख बजेट छुट्याएको थियो । सोही रकमबाट राजवंशीकै अध्यक्षतामा टहरा निर्माण भएको थियो । टहरा निर्माण सम्पन्न भएपछि सो समितिले असारको २५ गते वडा सिफारिस र अनुगमन समितिको कार्य सम्पन्न गरेको प्रतिवेदनसहित नगरपालिकाको प्राविधिक शाखामा रकम भुक्तानीका लागि फाइल पेश गरेको थियो ।

प्राविधिक शाखाले फाइल जिम्मा बुझे पनि लामो समयसम्म रकम भुक्तानीका लागि सिफारिस नगरेपछि राजवंशी गत असोज १२ गते कार्यालयमा नै बेहोस भएर ढलेका थिए । राजवंशीको मृत्यु भएपछि मृतकका आफन्त र वैराती बजार टहरा निर्माण समितिका पदाधिकारीले दुई दिनसम्म शव कार्यालयमा नै राखेर नगरपालिका घेराउ गर्दै इन्जिनीयर सचिन क्षेत्रीलाई बर्खास्त गर्न माग गरेका थिए ।

सामाजिक काम गर्दा गर्दै राजवंशीको मृत्यु भएको भन्दै नगरपालिकाले ११ महिनापछि मृतकका परिवारसंग क्षमा याचनासहित उनको परिवारलाई रु पाँच लाख क्षतिपूर्ति दिएको छ । सोमवार नगरपालिकामा मृतककी श्रीमती पार्वतीलाई नगरपालिका प्रमुख रोहितकुमार साह र उपप्रमुख गीतादेवी भेटवालले रु पाँच लाखको चेक हस्तान्तरण गर्नुभयो । परिवारको भरणपोषणका लागि भन्दै नगरपालिकाले रावजंशी परिवारलाई आर्थिक सहयोग गरेको गरेको हो ।सामाजिक काम गर्ने क्रममा निधन भएको भन्दै राजवंशीलाई नगरकै सामाजिक अभियानकर्मीको रूपमा सम्मान दिने निर्णय गर्दै इन्जिनीयर क्षेत्रीलाई बर्खास्त गरेपछि विवाद साम्य भएको थियो ।

यो पनि हेर्नुहोस 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij