• Saturday 25th of July 2026

मुसहर बस्ती आज हस्तान्तरण हुँदै


  • आशाका किरण

सरकारले आवासविहीन मुसहरसहितका दलित समुदायका लागि सिन्धुलीको दुधौलीमा निर्माण गरेको ३५५ घर आज हस्तान्तरण गर्ने भएको छ । लाभग्राहीहरुलाई वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले घरको साँचो हस्तान्तरण गर्ने कार्यक्रम तय भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनता आवास कार्यक्रमअन्तर्गत निर्माण गरेका घरहरु आज प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मुसहरहरुलाई हस्तान्तरण गर्ने कार्यक्रम तय भएको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले जानकारी दिनुभयो । प्रदेश सरकारले एकीकृत बस्ती विकास कार्यक्रमअन्तर्गत अतिसीमान्तकृत मुसहर समुदायका लागि एकीकृत बस्ती निर्माण गरेको हो । बस्ती निर्माणका लागि सरकारले सिन्धुलीको दुधौली नगरपालिकाको वडा नम्बर ७ र ९ मा रु दुई करोड बजेट विनियोजन गरेको थियो ।

निर्माण गरेका ३५५ घर संविधान दिवसका अवसरमा वितरण गर्न लागिएको हो । प्रदेश सरकारले एकीकृत बस्ती विकास कार्यक्रमअन्तर्गत मुसहरसहित अतिसीमान्तकृत माझी तथा चेपाङ समुदायका लागि समेत एकीकृत बस्ती निर्माण गरेको मन्त्री फुयाँलले बताउनुभयोे । सिन्धुलीबाहेक प्रदेश सरकारले दोलखाको भीमेश्वर–४ मा जिलु एकीकृत बस्ती विकास कार्यक्रमका लागि रु दुई करोड, मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ र १२ का लागि रु दुई करोड ५० लाख, सिन्धुपाल्चोकको इन्द्रावती–५ मा प्युघर भदौरे एकीकृत माझी बस्ती विकासका लागि रु एक करोड, सिन्धुपाल्चोककै हेलम्बुमा नोर्वुलिङ एकीकृत माझी बस्ती विकास कार्यक्रमका लागि रु ३० लाख, सिन्धुपाल्चोककै चौतारा, साँगाचोक गढीमा झ्याडी एकीकृत नमूना माझी बस्ती विकास कार्यक्रमका लागि रु ४० लाख र धादिङ एकीकृत बस्ती विकास कार्यक्रमका लागि रु ४५ लाख बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ ।

यो पनि हेर्नुहोस: 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij