• Saturday 25th of July 2026

विदेशबाट फर्केर स्वदेशमै रोजगारी


  • आशाका किरण
Migrated workers from Libya who have been rescued from Libya arrive in Tribhuwan International Airport in Kathmandu on Saturday. 62 workers have been working in Darna , were arrived today. photo/ Shaligram Tiwari/ Kantipur/ Post

कोरोनाको सङ्क्रमणबाट जोगिन भारतलगायत विभिन्न खाडी मुलुकहरुबाट स्वदेश फर्किएका युवा यहीँ विभिन्न व्यवसाय र काम गरेर बस्न थालेका छन् । विदेशमा कोरोनाको सङ्क्रमण झन बढेपछि उनीहरुले विदेश जाने सोच बदलेर गाउँघरमै आफूले जानेका सीप र श्रम लगाएर काम गर्न थालेका हुन् । गत चैत्रको दोस्रो साता भारतको नयाँदिल्लीबाट घर फर्कनुभएका दाङको राप्ती गाउँपालिका­३ छोट्की सिसहनियाका खेमराज खड्काले अहिले गाउँमै कुखुरापालन व्यवसाय शुरु गर्नुभएको छ । नयाँदिल्लीमा रहँदा होटेलको कुकको काम गरेका खड्काले स्थानीय एग्रोभेटको प्राविधिक सहयोगमा कुखुरा पाल्न थाल्नुभएको हो ।

लमही नगरपालिका ७ का अनिल चौधरीले कतारबाट फर्केर अहिले घर निर्माणको काम गरी रहनुभएको छ । उहाँले कतारमा रहँदा पनि निर्माण मजदूरको काम गरेकाले लमही बजारमा कामको लागि जाने गरेको बताउनुहुन्छ । “खाली बस्दा साँझ विहान के खाने भन्ने चिन्ता हुन लाग्यो, आफूले गर्न सक्ने श्रमको काम गरेको छु” अनिलले भन्नुभयो । कोरोनाको डरले भएपनि घरमा परिवासंग बसेर काम गर्न पाउँदा खुशी लागेको उहाँले बताउनुभयो । देउखुरीकै सूर्यनारायण चौधरीले बाख्रापालन व्यवसाय शुरु गर्नुभएको छ । कतारको सुपरमार्केटमा काम गर्ने चौधरी नेपाल सरकारले गरेको उद्दार उडानमार्फत नेपाल आउनुभएको हो ।

चौधरीले अहिले १० वटा बाख्रा किनेर व्यवसाय शुरु गरेको बताउनुभयो । छ वर्ष विदेश बसे पनि घरमै बसेर व्यवसाय गर्न पाउँदा उहाँ खुशी हुनुहुन्छ । विदेशबाट घर फर्किएका जिल्लाका अन्य युवाहरुले पनि तरकारी खेती, पशुपालन, कुखुरापालन माछापालन, माहुरीपालन, व्यापार तथा ससना घरेलु उद्योग शुरु गरेको पाइएको छ । गाउँघरमै रहेर काम गर्नका लागि घरपरिवारको सहयोग र समूहबाट रकमको जोहो गरेर व्यवसाय सञ्चालन गरेको उनीहरुको भनाइ छ ।

विदेशबाट फर्केर व्यवसाय गरेका १३० जनालाई राप्ती गाउँपालिकाले व्यवस्थापन तथा प्रोत्साहनबापत अनुदान दिएको छ । प्रदेश नं ५ सरकारको सहयोगमा राप्ती गाउँपालिका कृषि शाखाले वडा कार्यालयको सिफारिसमा कोभिडबाट प्रभावित भई वैदेशिक रोजगारी गुमाएर गाउँ फर्किएर कृषिसँग सम्बन्धित व्यवसाय गरेका व्यक्तिलाई प्रोत्साहनस्वरुप अनुदान उपलब्ध गराएको गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले बताउनुभयो ।

यो पनि हेर्नुहोस:

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij