• Friday 24th of July 2026

गल्याङको समग्र विकासका लागि गुरुयोजना बनाइने


  • आशाका किरण

गल्याङ नगरपालिकाले नगरको समग्र विकासका लागि कृषि, वन र जडीबुटी खेतीको बारेमा गुरुयोजना बनाउने भएको छ । विकासका सम्भावना भएको क्षेत्रको पहिचान गरी नगरवासीलाई उत्पादनसँग जोड्दै रोजगारी सिर्जना गर्ने उद्देश्यले आयोजित अन्तक्र्रिया कार्यक्रममा नगरप्रमुख भूपराज अधिकारीले नगरको समग्र विकासका लागि कृषि, वन र जडीबुटी खेतीको बारेमा गुरुयोजना बनाउन लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आफ्नो भूगोल र माटो सुहाउँदो काम नगरेसम्म आर्थिक विकास र समृद्धि हासिल गर्न सकिदैन्, त्यसैले यहाँको भौगोलिक अवस्था अनुसार जडीबुटी र कृषिमा विशेष ध्यान दिएर काम गरिरहेको छु ।”

“जडीबुटीको पकेट क्षेत्र निर्माण गर्दै सामुदायिक वनमासमेत जडीबुटी खेतीको विस्तार गर्छौ, यसले धेरैलाई रोजगारी लिनुका साथै त्यतिकै खेर गएका वनपाखोको जग्गासमेत सदुपयोग हुने र आयआर्जनमासमेत टेवा पुग्नेछ”, उहाँले भन्नुभयो । आयुर्वेद स्वास्थ्य केन्द्र स्याङ्जा प्रमुख चिकित्सक सुभद्रा कार्कीले व्यक्तिको जीवनशैलीका कारण विभिन्न रोगसँग जुँधिरहनुपरेको भन्दै जीवनशैली सुधार्नुपर्नेमा जोड दिनुभयो । डिभिजन वन कार्यालय स्याङ्जाका प्रमुख तोयानाथ पौडेलले वनको संरक्षण र उचित प्रयोग गरेर जीवनलाई सार्थक बनाउन सकिने बताउँदै वन जङ्गल र हावापानीलाई स्वस्थ्य राख्नु सबैको साझा दायित्व हो भन्नुभयो ।

कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख शालिकराम अधिकारीले पकेटक्षेत्रको रुपमा खेती विस्तार गर्नुपर्ने उल्लेख गर्दै वास्तविक किसानले मात्र अनुदान पाउने परिपाटीको विकास हुनुपर्नेमा जोड दिनुभयो । गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद पाण्डेले जडीबुटी खेती, पशुपालन र कृषिलाई जोडेर स्थानीय आर्थिक विकास (एलइडी)मार्फत वृहत पञ्चवर्षीय योजना बनाउने काम भइरहेको छ भन्नुभयो ।

यो पनि हेर्नुहोस:

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij