• Saturday 25th of July 2026

निर्माण व्यवसायीलाई कारवाही शुरु, २१ निर्माण व्यवसायी कम्पनीलाई कालो सूचीमा


  • आशाका किरण

लामो समयदेखि सम्झौता अनुसार काम सम्पन्न नगर्ने विभिन्न २१ निर्माण व्यवसायी कम्पनीलाई कालो सूचीमा राखी ठेक्का प्रक्रिया रद्द गर्न प्रक्रिया अगाडि बढाइएको छ । सडक डिभिजन कार्यालय हेटाँैडाले मकवानपुर, वारा र पर्सा जिल्लामा सडक निर्माण र मर्मतलगायतका सम्झौता वमोजिम काम नगर्ने कम्पनीसँगको सम्झौता रद्द गरी आवश्यक कारवाही शुरुआत गरेको छ । कार्यालय प्रमुख योगेश सुमनले विसं २०६६ चैत अर्थात ११ वर्ष अगाडि सडक निर्माण तथा मर्मत ठेक्काको सम्झौता गरेका निर्माण व्यवसायीलाई पटक पटक सूचना गरेपनि सम्पर्कमा नआएकोले बाध्य भइ कारवाहीमा जानु परेको जानकारी दिनुभयो । कालो सूचीमा राख्ने प्रक्रिया अन्तर्गत मकवानपुरका सात, पर्साका छ, बाराका तीन र काठमाडाँैका एक निर्माण व्यवसायी कम्पनी छन् ।

ती कम्पनीसँग सम्झौता रद्द आर्थिक वर्ष २०६५÷०६६ देखि २०७०÷०७१ सम्मको रहेका कार्यालयले जनाएको छ । सार्वजनिक खरिद ऐन–२०६३ को दफा ५९ अनुसार सम्झौता अन्त्य गरेको कार्यालयले जनाएको छ । बैँक जमानत जफत गरी बाँकी कामको रकम असुलउपर गर्ने र कालो सूचीमा राखी कारवाही प्रक्रिया बढाउने निर्णय भएको कार्यालय प्रमुख सुमनले जानकारी दिनुभयो । त्यस्तै सम्झौता गरेर काम नगर्ने थप अन्य निर्माण व्यवसायी कम्पनीलाई पनि कारवाहीको दायरामा ल्याउने कार्य भइरहेको जनाइएको छ । निर्माण व्यवसायी हरिराम शाहले ठेकेदार कम्पनीको अस्वस्थ्य प्रतिस्पर्धा तथा बोलपत्र तल झरेर काम लिने र काम गर्न नसकेपछि सम्पर्कमा नआउने प्रवृत्ति समेत रहेको बताउनुभयो । एकैपटक धेरै बोलपत्र लिने र आफूगर्न नसकेपछि अरुलाई दिने पनि समस्या रहेको प्राविधिकको भनाइ रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij