• Saturday 25th of July 2026

दूधकोशी नदीमा ७० मेगावाटको विद्युत् उत्पादन अनुमति


  • आशाका किरण

दूधकोशी हाइड्रो पावर नेपालले (दूधकोशी–२ जलेश्वर ७० मेगावाट) विद्युत् उत्पादनका लागि अनुमतिपत्र प्राप्त गरेको छ । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकामा पर्ने दूधकोशी नदीमा विद्युत् उत्पादनको लागि विद्युत् विकास विभागबाट सोमबार अनुमतिपत्र प्राप्त भएको जनसम्पर्क अधिकृत जनकराज खनालले जानकारी दिनुभयो । यसअघि सोलुखुम्बुमा थुलुङ दूधकोशीमा ड्याम बनाइ सुरुङमार्गबाट खोटाङको ऐसेलुखर्क गाउँपालिकाको जलेश्वरीमा विद्युत्गृह निर्माण गरी २३० मेगावाट उत्पादन गर्ने अनुमानसहित प्रक्रिया अगाडि बढाइएको थियो ।

नेपाल सरकारको गौरवको आयोजना दूधकोशी जलाशययुक्त आयोजनाका कारण थुलुङ दूधकोशी गाउँपालिका– ५, ६ र ७ को सिमानामा पर्ने बर्खुघाटमा ड्याम निर्माण गर्ने र सोही गाउँपालिका–४ को खन्योखर्कमा विद्युत् गृह निर्माण गर्ने गरी उत्पादन अनुमतिपत्र प्राप्त भएको जनसम्पर्क अधिकृत खनालले जानकारी दिनुभयो । यसअघि दूधकोशीको पानी करिब पाँच किलोमिटर सुरुङ मार्गमार्फत जलेश्वरमा पु¥याउने योजना थियो भने अहिले तीन किलोमिटर सुरुङमार्गमार्फत खन्यखर्कमा निर्माण हुने विद्युत् गृहमा पु¥याइने छ । जसकारण उत्पादन क्षमतासमेत २३० मेगावाटबाट घटेर ७० मेगावाटमा झरेको कम्पनीले जनाएको छ ।

“भारतको लगानीमा निर्माण हुन लागेको दूधकोशी हाइड्रोपावर प्रालि विद्युत् खरिद बिक्रीसम्बन्धी सम्झौता नेपाल सरकारसँग हुने चरणमा छ”, जनसम्पर्क अधिकृत खनालले भन्नुभयो, “यस सम्बन्धी विद्युत् प्राधिकरणले सहमतिको लागि विद्युत् नियमन आयोजनामा पठाएको छ, त्यहाँबाट सहमति प्राप्त भएपछि कम्पनीसँग सम्झौता हुन्छ ।” आगामी मङ्सिरसम्ममा सम्झौताको काम सम्पन्न हुने उहाँको विश्वास छ ।

त्यस्तै आयोजनासम्बन्धी पुरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनसमेत अहिले विद्युत् विकासमार्फत जल तथा ऊर्जा मन्त्रालयमा सहमतिको लागि पठाइसकिएको छ । ऊर्जा मन्त्रालयको आवश्यक अध्ययन पश्चात वन तथा वातावरण मन्त्रालयमा पुगेर स्वीकृत हुने वित्तिकै निर्माणको काम शुरु गरिने उहाँको भनाइ छ । यो कार्य अबको दुई महिनाभित्र सम्पन्न हुने अनुमान गरिएको छ । त्यसपछि आयोजना निर्माणस्थल जाने बाटोको सर्वे, जग्गा अधिग्रहणलगायत काम शुरु हुने कम्पनीले जनाएको छ । उक्त आयोजना सम्पन्न गर्न करिब रु १४ अर्ब लगानी लाग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij