• Friday 24th of July 2026

बन्दाबन्दी खुलेसँगै इलाममा पर्यटकको चहलपहल शुरु


  • आशाका किरण

इलाममा आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।

लामो समयको बन्दाबन्दीका कारण सुनसान भएको इलामको पर्यटकीय स्थलहरुमा हिजोआज आन्तरिक पर्यटहकको चहलपहल बढ्न थालेको हो । बन्दाबन्दी खुलेसँगै यातायात सञ्चालनमा आएको र अनुकूल मौसम भएकाले यहाँका पर्यटकीय स्थाल कन्याम, अन्तु र माइपोखरीलगायत घुम्न आउने आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ ।

मौसममा सुधार भएसंगै पर्यटकको आगमन बढेको कन्यामका होटल ब्यवसायी टेकराज गिरीले बताउनुभयो । “यहाँ आउने पर्यटकलाई स्वास्थ्य सुरक्षा सर्तकता अपनाएर घुम्न आग्रह गर्ने गरिएको छ”, उहाँले भन्नुभयो, “हामीले पनि स्वस्थ्य मापदण्डको पूर्ण पालना गर्ने गरी सेवा प्रदान गरेका छौं ।” उहाँका अनुसार चिया बगान घुम्न, हिमाली क्षेत्रको दृश्यावलोकन र घोडचढी गर्न तथा विभिन्न जातजातिको भेषभूषमा सजिएर तस्वीर लिन यहाँ पर्यटक आउन थालेका छन् ।

अन्तुमा पनि आउने पर्यटकले यतिखेर यहाँको घरवास (होमस्टे) मा भरिएको छ । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सेवा दिन थालिएको अन्तुका होमस्टे व्यवसायी रुद्र घिमिरेले बताउनुभयो । उहाँका अनुसार भीडभाड नहुने गरी होमस्टे, कटेज र होटलमा पर्यटकलाई राख्ने व्यवस्था मिलाइएको छ । अन्तुमा पर्यटक बढेपछि वडा कार्यालयले समेत स्वास्थ्य मापदण्ड अपनाउन ब्यवसायी र पर्यटकलाई आग्रह गरेको छ ।

प्रदेश नं १ सरकारले पर्यटकीय नगरी घोषणा गरेको सूर्योदय नगरपालिकाको कन्याम, अन्तुलगायत स्थानमा पर्यटकको चहलपहल बढ्न थालेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । पर्यटन व्यवसाय सञ्चालनमा आएपछि अब बैंकको ऋण र ब्याज बुझाउन पाउनेमा उनीहरु ढुक्क छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij